१७ असार २०८२ मंगलबार | 01 Jul 2025 Tue

किसानको आम्दानी बढाउन बाँडियो बिरुवा



  • आफ्नै खबर
  • १६ असार २०८२ सोमबार (४ घण्टा अघि)
  • पाठक संख्या ४३
  • भोजपुर/  वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो । 

    किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार ६ सय टिमुर, एक हजार एक सय सतुवा, एक/एक हजार वटा रुद्राक्ष र तेजपत्ता तथा पाँच सय ५० लोठ सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । 

    जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो । हरित क्षेत्रको विकाससँगै किसानलाई आर्थिक रुपमासमेत टेवा पुर्याउने लक्ष्यले विभिन्न कार्यक्रममार्फत किसानलाई बिरुवा वितरण गरिरहेका अधिकृत अधिकारीको भनाइ छ । 

    दिङ्ला, याकु, बालाङखा र जिल्लामा सञ्चालनमा रहेका नर्सरीबाट असार र साउन महिनामा ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

    ‘हामीले वन क्षेत्रको विकाससँगै यसबाट किसानलाई आयआर्जन हुने खालका कार्यक्रममा जोड दिएका छौँ’, उहाँले भन्नुभयो, ‘हामीले हालसम्मका साढे आठ हजार बढी बिरुवा वितरण गरिसकेका छौँ । ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएका छौँ ।’ 

    राष्ट्रिय वृक्षरोपण दिवस २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा पौवादुङमा गाउँपालिका तथा विभिन्न स्थानमा बिरुवा रोपण कार्यक्रम भइरहेको कार्यालयले जनाएको छ ।

    स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वन पैदावार व्यवसायी सङ्घ, सरोकारवाला, संस्थाका प्रतिनिधिको सहभागितामा भोजपुर नगरपालिका– ५ मा रहेको भकिम्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । यो कार्य निरन्तर रुपमा अघि बढाइने कार्यालयको भनाइ छ ।

    –रासस