सिराहा/ लहान नगरपालिका–१२ स्थित भोटियाटोलमा श्रमिक महिलाको सशक्तिकरणका लागि ‘श्रमिक भवन’ निर्माण कार्य सुरु गरिएको छ । महिला श्रमिकको पहिचान, आत्मसम्मान र अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुने यो भवनको आज शिलान्यास गरिएको हो ।
१६ लाख ४४ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको भवन ‘एक्सन एड’ नेपाल र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा निर्माण हुनेछ । आगामी डिसेम्बर ३१ सम्म निर्माण सम्पन्न हुने जनाइएको छ ।
भवनको शिलान्यास लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी तथा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केले लहानमा श्रमिक महिलाको उल्लेखनीय उपस्थिति रहेकाले उनीहरूका लागि छुट्टै भवनको आवश्यकता महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिंसारहित वातावरणमा काम गर्न, न्यायोचित ज्यालाको माग गर्न तथा विभिन्न तालिम, गोष्ठी सञ्चालन गर्न यो भवन उपयोगी हुनेछ ।’
वडाअध्यक्ष बद्रीनारायण चौधरीले श्रमिक महिलाको सुरक्षाको सवालमा वडा कार्यालय तथा नगरपालिकाले संवेदनशीलता देखाउँदै आएको बताउनुभयो । उहाँले लहानमा पहिलोपटक श्रमिक महिलाका लागि भवन बन्न लागेकामा खुसी व्यक्त गर्नुभयो ।
नगरप्रमुख महेशप्रसाद चौधरीले भविष्यमा यही भवनमा सीपमूलक तालिम, कानुनी साक्षरता कार्यक्रम र महिला नेतृत्व विकासका कार्य सञ्चालन सहज हुने भन्दै नगरपालिका त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘महिला श्रमिकको हक, सुरक्षा र सशक्तिकरणका लागि लहान नगरपालिका सधैँ प्रतिबद्ध रहन्छ । भविष्यमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।’
कार्यक्रममा उपस्थित श्रमिक महिलाले भवनमा सञ्चालन हुने सीपमूलक तालिमले वैकल्पिक आयआर्जन पनि गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । भवन निर्माणका लागि लहान नगरपालिका–१२ स्थित शिव मन्दिर छेउको सार्वजनिक जमिन नगरपालिकाले प्रदान गरेको हो ।
–रासस
प्रतिक्रिया दिनुहोस