३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

सहकारी आफैँले थाल्यो मेवाखेती



  • आफ्नै खबर
  • १७ असार २०८२ मंगलबार (२ हप्ता अघि)
  • पाठक संख्या ८९
  • दाङ/  घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ । 

    सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रुपमा रेड लेडी जातको मेवाखेती सुरु गरेको थियो । उक्त जग्गाको वार्षिक ३६ हजार रुपैयाँ भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताउनुभयो । 

    सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट ५० हजार रुपैयाँ र पाकेको फल बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताउनुभयो । मेवा बिक्रीबाट आएको मुनाफा शेयर सदस्यलाई दिने गरिएको उहाँ बताउनुहुन्छ । 

    सुरुमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो । त्यसमा दुई सय ५० बिरुवा सहकारीबाट लगाइएको उहाँको भनाइ छ । एक पोका बीउलाई आठ हजार पाँच सय रुपैयाँ पर्ने गरेको उहाँ बताउनुहुन्छ ।

    प्रत्येक पोकाबाट चार सय बिरुवा उत्पादन हुने गरेको उहाँसँग अनुभव रहेको छ । मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई एक सय रुपैयाँका दरले र त्योभन्दा कम लैजानलाई एक सय ५० रुपैयाँका दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताउनुभयो । 

    मेवाको फल र बिरुवा पनि राम्रै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुसी भएको उहाँ बताउनुहुन्छ । कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उहाँको भनाइ छ । भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उहाँ बताउनुहुन्छ । 

    यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो ।

    सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष डेढ लाख रुपैयाँ आम्दानी गरेको थियो । तीन सय ५० सदस्य रहेको बलिदान कृषि सहकारीको डेढ करोड रुपैयाँ पुँजी रहेको छ ।

    –रासस