३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

बाँदर लाग्ने ठाउँमा कागुनोखेती



  • आफ्नै खबर
  • १८ असार २०८२ बुधबार (२ हप्ता अघि)
  • पाठक संख्या ७५
  • कास्की/  पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन् ।

    बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनोखेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिक रुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन् ।

    अन्य खेतीका तुलनामा कागुनोखेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी सामुदायिक विकास संस्था आमा समूहका अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पछिल्ला वर्षमा काफलघारी क्षेत्रमा ६० रोपनीभन्दा बढी क्षेत्रफलमा कागुनोखेती हुने गरेको छ । परापूर्वकालदेखि विशेषतः नेपालको पहाडी क्षेत्रमा कागुनोको खेती गरिँदै आइएको छ । 

    सिँचाइको सुविधा नभएको जग्गामा पनि उत्पादन हुने यो खेती कोदोबालीअन्तर्गत पर्दछ । बहुपोषणयुक्त खाद्यान्नका रुपमा रहेको यस अन्नमा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्व पाइन्छन् ।

    ठोस फाइबर हुने भएकाले यसका परिकार खाँदा पाचन क्रिया सहज हुन्छ । मधुमेहका रोगीहरूका लागि यो बढी स्वस्थकर मानिन्छ ।

    सिँचाइ बिना पनि राम्रो उत्पादन हुने र बाँदरले कम खाने भएकाले पहाडी भूभागमा यसको खेतीको धेरै सम्भावना रहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।

    कागुनोखेतीतर्फ कृषकहरूको आकर्षणलाई दृष्टिगत गर्दै महानगरपालिकाले यसको न्यूनतम समर्थन मूल्य प्रतिकिलो एक सय २० रुपैयाँ निर्धारण गरिएको उहाँले बताउनुभयो ।

    –रासस