कैलाली/ धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । उहाँले भण्डारी बहुउद्देश्य कृषिफर्म दर्ता गरी विगत ६ वर्षदेखि खेती गर्दै आउनुभएको हो ।
सोह्र वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभएका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केराखेतीमा लाग्नुभएको हो । उहाँले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बीचमा व्यवसाय सुरु गर्नुभएको हो ।
‘विदेशबाट फर्किएपछि फुर्सदमा घर बसिरहेको थिएँ । त्यतिबेला नेपालसहित सारा विश्व नै कोभिड–१९ को महामारीमा थियो । उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन’, भण्डारीले भन्नुभयो, ‘गाउँमा केही व्यक्तिले केराखेती व्यवसाय गरेका थिए । त्यो देखेर मैले पनि अब केराखेती नै गर्नुपर्छ भन्ने लागेर व्यवसाय सुरु गरेको हुँ ।’
उहाँले आफ्नो एक बिघा जमिनमा केराखेती गर्नुभएको छ । त्यसबाट वार्षिक १५ लाख रुपैयाँ बराबर केराको कारोबार हुने र १० लाख रुपैयाँ जति फाइदा हुने गरेको भण्डारीले सुनाउनुभयो । उहाँले उत्पादित केरा धनगढी र नजिकैको स्थानीय बजारमा बिक्री गर्ने गरेको बताउनुभयो ।
कृषक भण्डारीको परिवारमा आमा, श्रीमती, छोराछोरी गरी पाँच जना छन् । उहाँले परिवारको लालनपालन, छोराछोरीको शिक्षादीक्षालगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आउनुभएको छ ।
हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहनुभएको छ ।
‘गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । पाँच जनाको परिवारको खर्च यसैबाट टरेको छ’, उहाँले भन्नुभयो, ‘सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।’
भण्डारीको बसोबास क्षेत्र अर्थात् वडा नं १४ मा हिजोआज १० जना जति कृषकले केराखेती गरिरहेका छन् । यसको विकास र बिस्तारका लागि सरकारले अनुदानका साथै समयमै मलखाद र बीउबिजन सहुलियत मूल्यमा उपलब्ध गराई दिए धेरै सहज हुने उहाँको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस