१९ असार २०८२ बिहिबार | 03 Jul 2025 Thu

सामुदायिक वनको झाडी फाँडेर निगुरो र अम्रिसोखेती



  • आफ्नै खबर
  • १९ असार २०८२ बिहिबार (६ घण्टा अघि)
  • पाठक संख्या ५२
  • बागलुङ/  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निगुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब तीन सय रोपनी क्षेत्रमा निगुरो र अम्रिसो लगाएका हुन् ।

    यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको तीन सय रोपनी क्षेत्रमा खेती सुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उहाँले योजना सुनाउनुभयो । तीन वर्षअघि १२ रोपनीमा सुरु गरेको यो खेती हाल तीन सय रोपनीमा फैलाउन सफल भएको अध्यक्ष लामिछानेले बताउनुभयो । 

    यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म तीन लाख रुपैयाँ लगानी भएको छ । हाल गाउँमै निगुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो । रेश गाउँमा पहिले निगुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताउनुभयो । 

    ‘पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे । हाल बसाइँसराइले गाउँमा मान्छे कम छन् । पहिलेको जस्तो बस्तुभाउ पाल्दैनन् । त्यसले गर्दा वनमा झाडी पलायो’, उहाँले भन्नुभयो, ‘त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निगुरो र अम्रिसो लगाएका छौँ । अरू बिरुवा पनि फाटफुट लगाएका छौँ । वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम सुरु गरेका हौँ ।’

    स्थानीय धनबहादुर जिसी हाल लगाइएको निगुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनमा फैसा फल्ने बताउनुहुन्छ । तरकारीका रूपमा प्रयोग हुने निगुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उहाँको भनाइ छ । झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ । 

    काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा सङ्कलन गरी खेती बिस्तार गरेको सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पहिले निगुरो खोज्नका लागि धेरै टाढाको जङ्गलमा जाने गरेका थियौँ ।हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ । काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ । उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ ।’

    –रासस