बागलुङ/ २०७३ सालमा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ । काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात् बसेको १७औँ गाउँसभाको तेस्रो बैठकले सर्वसम्मत रूपमा पालिकाको भवन बनाउने स्थानको टुङ्गो लगाएको हो ।
बागलुङका १० पालिकामध्ये नौ पालिका आफ्नै भवनमा रहँदा बागलुङको काठेखोला गाउँपालिकाको केन्द्र विवादले गर्दा प्रशासकीय भवन निर्माण हुनसकेको थिएन । भवनका निर्माणका लागि स्थान छनोटमा सहमति नजुट्दा अहिलेसम्म गाउँपालिका भाडाकै घरमा सञ्चालनमा हुँदै आएको छ ।
काठेखोला गाउँपालिका–२ अक्षते र वडा नं ६ को सुल्डाँडाका स्थानीय जग्गा उपलब्ध गराउन राजी भए पनि निर्वाचित जनप्रतिनिधिको मत बाँझिदा समस्या भएको थियो ।
यही असार १० गते १७औँ गाउँसभाको दोस्रो बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत भएको थियो । मतदानका क्रममा समेत अक्षते र सुल्डाँडा कुनै पनि ठाउँका लागि दुईतिहाइ मत प्राप्त हुन सकेन ।
अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए ।
बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अक्षते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमतिपश्चात बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।
‘स्थापनाको नौ वर्षमा गाउँपालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लागेको छ । आमपाटामा स्थानीयले ६ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । आगामी वर्ष पालिकाको भवन निर्माण गर्न थालिन्छ’, अध्यक्ष थापाले भन्नुभयो, ‘राजनीतिक दलको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको हो । पालिकाले अहिले मासिक ६० हजार रुपैयाँ तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ ।’
गाउँपालिकाले सुल्डाँडाका आधा दर्जन घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । पालिकाको आफ्नै भवन नहुँदा हरेक वर्ष सात लाख रुपैयाँभन्दा बढी घरभाडा तिर्दै आएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस