तनहुँ/ शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा ॐ कृषि फार्मका सञ्चालक कविराज खनालले यस वर्ष मात्रै चार लाख ५० हजार रुपैयाँको सिप्लिकानका बिरुवा बेच्नुभएको छ ।
विशेषगरी पहाडी क्षेत्रमा पाइने बहुऔषधिय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ । तर खनालले भने विगत पाँच वर्षयता यसको व्यावसायिक खेती गरी आम्दानी गरिरहनुभएको छ ।
परापूर्वकालदेखि नै च्यवन, गर्गजस्ता ऋषिमुनिहरूले यस वनस्पतिलाई शरीरको शुद्धीकरणसँगै ध्यानमा स्थिरता र दीर्घायु प्राप्तिका लागि उपयोग गर्ने गरेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको यस वनस्पतिको संरक्षणसँगै पुस्तौँसम्म यसको उपयोग होस् भन्ने सोचका साथ व्यावसायिक खेती गर्न थालेको खनालले बताउनुभयो ।
कास्कीको रुपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र तनहुँको शुक्लागण्डकी, भिमाद, बन्दीपुर, देवघाट आसपासका क्षेत्रहरू सिप्लिकान खेतीका लागि उपयुक्त रहेको बताउँदै उहाँले सङ्कटापन्न यस प्रजातिको वनस्पतिलाई संरक्षण गर्दै जनजनमा प्रयोग बढाउने उद्देश्य राखेको सुनाउनुभयो ।
कोभिड–१९ महामारीपछि विगत पाँचदेखि आफू यस खेतीतर्फ लागेको खनालको भनाइ छ ।
‘यसको व्यावसायिक खेती सुरु गरेको पाँच वर्षभन्दा बढी भयो । राम्रै उत्पादन भयरहेको छ । यस वर्ष मात्रै चार लाख ५० हजारको बिरुवा बिक्री भएको छ’, उहाँले भन्नुभयो, ‘कास्कीको रूपा गाउँपालिकासहित देशका विभिन्न स्थानमा यहाँको बिरुवा पुग्ने गरेको छ । माग धान्नै सकेको छैन ।’
खनालले यस वर्ष मात्र नर्सरीमा १० हजार बिरुवा उत्पादन गरे पनि मागअनुसार अझै बिरुवा उत्पादन गर्न नसकिएको जानकारी दिनुभयो । छरछिमेक, इष्टमित्रलगायत कतिपय स्थानमा निःशुल्क बिरुवा प्रदान गर्ने गरेको उहाँले बताउनुभयो ।
सिप्लिकानको प्रतिबिरुवा एक सयदेखि एक सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ । पछिल्ला वर्षमा यसको माग अत्यधिक बढ्दो क्रममा छ ।
खनालले भन्नुभयो, ‘पर्यावरणीय सन्तुलनसँगै यो वनस्पति स्वास्थ्यप्रद पनि छ । यसको महत्त्व प्रचारका साथै संरक्षण र बिस्तार आवश्यक छ । यसका लागि राज्यले पनि साथ र सहयोग गर्नुपर्छ ।’
उच्च रक्तचाप, सुगर, जन्डिस र मिर्गौलामा हुने पत्थरीलगायतका रोगका लागि औषधिका रूपमा सिप्लिकानको प्रयोग गर्ने गरिन्छ । यसलाई तत्कालका लागि तरकारी र अचार तथा लामो समयका लागि गुन्द्रुक बनाएर पनि खान सकिन्छ ।
खनालले आफ्नो फार्ममा सिप्लिकानसँगै कुरिलोखेती पनि गर्दै आउनुभएको छ । यहाँको उत्पादन शुक्लागण्डकी नगरपालिका–१ र २ का साथै पोखरा नगरपालिका–३२ बाट पनि बिक्री भइरहेको छ । आफ्नो फार्मबाट वार्षिक २० देखि २५ हजार कुरिलोका बिरुवा बिक्री भइरहेका उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि उपयोगी कुरिलोको टुसालाई तरकारीका रूपमा बढी प्रयोग गरिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न पौष्टिक तत्व पाइने र बच्चादेखि वृद्धसम्म सबैका लागि उपयोगी हुने खनालको भनाइ छ ।
खनालले पछिल्लो समय फार्ममा आउने वा बुझ्न चाहने जो कोहीलाई कुरिलो, सिप्लिकानलगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरणलगायत विषयमा जानकारी गराउँदै आउनुभएको छ । उहाँको फार्म एउटा जीवन्त पाठशाला जस्तै बन्दै गएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस