४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा



  • आफ्नै खबर
  • २० असार २०८२ शुक्रबार (२ महिना अघि)
  • पाठक संख्या ७८
  • धनुषा/  जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ ।

    सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिनुभयो । 

    १८ करोड ९१ लाख रुपैयाँभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्डपसहित यहाँका पाँच स्थानमा काम भइरहेको छ । त्यसमध्ये बढी लागतमा धार्मिक पर्यटकीयस्थल मणिमण्डप सौन्दर्यीकरण भइरहेको उहाँले बताउनुभयो । निर्माण सम्पन्न भएपछि यसलाई जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । 

    जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाध्यक्ष जितबहादुर राउतले  ऐतिहासिक महत्त्वको मणिमण्डपलाई विश्वका हिन्दु धर्मावलम्बीका लागि आकर्षक विवाहस्थल बनाउन थालिएको र त्यसक्रममा सुविधा सम्पन्न प्यालेस भवन निर्माण भएको बताउनुभयो ।

    उक्त भवनमा ७० जना अटाउने हलसहित २१ वटा कोठा छन् । साथै यहाँ दुई वटा सुविधा सम्पन्न २४ कोठे धर्मशाला, विवाहमण्डप र दुई वटा पेभेलियन रहेका छन् । 

    आयोजना आर्थिक वर्ष २०७४/७५ देखि सुरुआत गरिएकामा यही असारभित्रमा सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका इन्जिनियर निर्मलकुमार यादवले सोहीअनुसार अन्तिम चरणका काम भइरहेको बताउनुभयो ।

    –रासस