२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon

सङ्घर्षको अन्तिम चरणमा पुगेको तामाका भाँडा बनाउने पेसा



  • आफ्नै खबर
  • २२ असार २०८२ आईतबार (७ घण्टा अघि)
  • पाठक संख्या ५५
  • डडेल्धुरा/  विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका छन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन् ।

    यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन् । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दो छ ।

    अमरगढी नगरपालिका–६ छचोडाका लक्ष्मी टमाटाको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँस्वरुप र शैलीमा फरक किसिमको बनाउने गरिन्थ्यो । आजभोलि कारोबार सुनसान बनेको उहाँले बताउनुभयो ।

    आफूलाई धातुका र तामाका आकर्षक भाँडाकुँडा बनाउने सीप भए पनि यसले बजार नपाउँदा नासिने अवस्थामा पुगेको टमाटाको गुनासो छ । बजारमा नयाँ तथा आकर्षक भाँडाले कब्जा जमाएसँगै तामा र फलामबाट बनेका भाँडाकुँडाले बजार पाउन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

    टमाटाले भन्नुभयो, ‘यो क्षेत्रमा अधिकांशले तामाका भाँडा बनाएर जीविकोपार्जन गर्दथे । यतिखेर स्टिल र प्लास्टिकका भाँडाको प्रयोगले व्यवसाय लोप हुँदै गएको छ ।’ आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामग्रीको उपयोग कम हुँदै जानुलगायत कारणले गर्दा विस्थापित हुन पुगेको उहाँको भनाइ छ । 

    स्थानीय प्रविधिको उपयोग गरी निर्मित अम्खोरा, तमौरा, गाग्री, मानालगायत वस्तु अहिले लोप हुँदै गएका पुराना आरन व्यवसायी तेजबहादुर ताम्राकारले बताउनुभयो ।

    डडेल्धुराको अमरगढी नगरपालिकाका छचोडा, कोटेली, पोखरा आलितालको डोला, गाङखेत, हर्तकालगायत २५ भन्दा बढी ठाउँका आरन व्यवसायीले यही पेसाबाट दैनिकी चलाउने गरेको बताएका छन् । पछिल्लो समय कारोबार घट्दै गएपछि व्यवसाय हराउने जोखिम बढ्नुका साथै विदेश जाने युवाको सङ्ख्या पनि बढ्दै गएको ताम्राकारले बताउनुभयो ।

    घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन सरोकार भएका निकाय तथा स्थानीय सरकारबाट पहल नभएको उहाँले गुनासो गर्नुभयो । जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने सम्भावना भए पनि कुनै निकायले संरक्षणका लागि पहल नगर्नु चिन्ताको विषय भएको आरन व्यवसायीको भनाइ छ ।

    –रासस