२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon

एउटै सहकारीले सय हेक्टरमा उत्पादन गर्यो धानको बीउ



  • आफ्नै खबर
  • २२ असार २०८२ आईतबार (६ घण्टा अघि)
  • पाठक संख्या ४१
  • कैलाली/  करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ । सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा नं ४ र ७ का करिब सय बढी किसानले धानको बीउखेती गरेका छन् ।

    उत्पादनका दृष्टिकोणले उर्वर जमिन र सिँचाइको राम्रो प्रबन्ध भएका कारण किसान धान बीउ उत्पादनमा लागेका हुन् । गत वर्ष सहकारीले तीन हजार पाँच सय क्विन्टल धानको बीउ उत्पादन गरेको थियो । यसैगरी गहुँ तीन हजार क्विन्टल, तोरी ६० क्विन्टल र मकैको बीउ १२ क्विन्टल किसानबाट खरिद गरिएको सहकारीले जनाएको छ । 

    यसरी खरिद गर्दा सहकारीले किसानलाई बजार भाउभन्दा प्रतिक्विन्टल तीन सय रुपैयाँ बढी मूल्य दिने गरेको छ । सुरुमा ४५ जना किसानबाट सुरु गरिएको सहकारीले पछिल्लो समय बीउ उत्पादनमा ठूलो योगदान दिँदै आएको छ ।

    यहाँ उत्पादन भएको बीउ कैलालीका विभिन्न पालिकामा बिक्री हुने गरेको छ । यसबाहेक बर्दिया, बाँके, सुर्खेत, दाङ, कञ्चनपुर, दैलेख, सर्लाही, सप्तरी, सिराहाका किसानले लैजाने गरेका छन् । 

    एकपटक बीउ लैजाने किसानले अर्काेपटक खोजीखोजी आउने गरेको सहकारीका पूर्वअध्यक्ष कमलबहादुर कठरियाले बताउनुभयो ।

    ‘सुुरुआतको दिनमा बीउ उत्पादनमा धेरैलाई चासो थिएन । अहिले धेरै किसान बीउ उत्पादनमा लागेका छन्’, उहाँले भन्नुभयो, ‘हामीले बीउ उत्पादन गर्दा मेहनत गर्यौं, अहिले बीउको माग धेरै छ ।’ 

    रानी जमरा कुलरिया सिँचाइ आयोजना सञ्चालन भएपछि कृषि कार्यक्रममार्फत सहकारीलाई ठूलो सहयोग भएको भन्दै कठरियाले बीउ ग्रेडिङ र भण्डारणको समस्या नभएको बताउनुभयो ।

    सहकारीले गत वर्ष सय हेक्टरमा धान बीउखेती गरेको थियो भने एक सय १५ हेक्टरमा गहुँको बीउ उत्पादन गरेको थियो । दश हेक्टरमा तोरीको बीउ, दुई हेक्टरमा मकै र करिब एक हेक्टरमा मसुरोको बीउखेती गरिएको थियो ।

    २०५७ सालबाट समूहमार्फत तरकारी खेती गर्दै आएको समूहलाई २०६२ सालमा सहकारीमा विस्तार गरी बीउ उत्पादन थालेको हो । किसानको सक्रियताले विभिन्न सङ्घसंस्थाको सहयोगमा बीउ उत्पादनमा लागेको सहकारीलाई रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ठूलो साथ दियो । 

    सहकारीका विजय बडायकले स्थानीय जातका बीउ प्रयोग गर्दै आएका किसानलाई उत्पादन बढी लिन सहज होस् भनी सहकारीमार्फत बीउ उत्पादन थालेको बताउनुभयो । 

    सहकारीका व्यवस्थापक गोविन्दराज रावतका अनुसार सहकारीसँग हाल चार सय आठ मेट्रिक टन भण्डारण क्षमताका गोदाम रहेको छ । सहकारीले धेरै बालीका बीउ उत्पादन गर्दै आएको र विभिन्न जिल्लामा पठाउने गरिएको छ ।

    सहकारीको सहयोगमा यहाँका किसानले धान, गहुँ, मकै, मसुरो, तोरी, मासलगायत बालीका बीउ उत्पादन गर्ने गरेका छन् । सिँचाइ आयोजनाले भण्डारण भवन, विभिन्न मेसिन र ग्रेडिङ मेसिन उपलब्ध गराएपछि सहयोग भएको छ । 

    किसान लविता कठरियाले तीन बिघा जमिनमा धान तथा गहुँको बीउ उत्पादन गर्दै आएको बताउनुभयो । विगतमा खेती गर्दा खासै उत्पादन लिन नसक्ने किसानले सहकारीमै बीउ र मल पाउनुका साथै सहकारीले नै उत्पादन किनिदिने भएपछि खेती गर्न हौसला मिलेको उहाँको भनाइ छ । 

    विगतमा मुनुवाका किसान घरकै भकारीमा भण्डारण गरिएको बीउ प्रयोग गर्थे भने कतिपय किसान बीउका लागि अन्यत्र भौतारिन बाध्य थिए । गाउँमै ग्रेडिङ गरिएको गुणस्तरीय बीउ पाउन थालेपछि उनीहरूको सहकारीप्रति आकर्षण बढ्दै गएको छ । सहकारीले आफ्ना सदस्यलाई  बीउलगायत अन्य सहुलियत दिँदै आएको छ । 

    सहकारीको सदस्य बन्न बीउ उत्पादन गर्ने किसान हुनैपर्ने नियम छ । पैतालीस जना किसानले सुरु गरेको मुनुवा बिजवृद्धि सहकारीमा हाल एक सय नौ जना सेयरसदस्य छन् । सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि उत्पादन वृद्धिका लागि किसान तथा सहकारीलाई सघाइरहेको छ । 

    आयोजनाका प्रमुख भरत कँडेलले मुनुवा बिजवृद्धि कृषि सहकारी संस्था बीउ उत्पादनमा अग्रणी संस्थाका रूपमा काम गरिरहेको र आयोजनाको यस्ता संस्थालाई सधैँ साथ रहने बताउनुभयो । 

    ‘सहकारीले बीउ उत्पादनमा खेलेको भूमिका सराहनीय छ । बिजवृद्धिमा राम्रो काम गरेको छ’, उहाँले भन्नुभयो, ‘समयअनुसार किसानलाई अझै आधुनिकीकरण बनाउनमा हाम्रो प्रयास हुन्छ । हामीले सहकारीमार्फत किसानलाई लाभ होस् भनी सहकारीलाई आवश्यक प्रविधि, भण्डारणका लागि भवन निर्माणमा सघाएका छौंँ, यो सहयोग निरन्तर हुन्छ ।’

    सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइको सहयोगमा टीकापुर र जानकीका दर्जनबढी सहकारीले बीउ उत्पादनको काम गरिरहेका छन् । किसानले उत्पादन गरेको बीउ सहकारीमार्फत बिक्री वितरण गर्ने गरिएको छ । बीजवृद्धिले बीउ उत्पादनमा सफलता पाएपछि यस क्षेत्रका अन्य सहकारीले पनि बीउ उत्पादनमा चासो दिन थालेका छन् ।

    –रासस