७ भदौ २०८२ शनिबार | 23 Aug 2025 Sat

विद्यालयप्रती पूर्व विद्यार्थीको प्रेम



  • आफ्नै खबर
  • २२ असार २०८२ आईतबार (२ महिना अघि)
  • पाठक संख्या ३०१
  • काठमाडौँ/   श्री गणेश मा.वि. चपलीका पूर्व विद्यार्थीहरूको समूह "श्री गणेश मा.वि. २०५४ सेरोफेरो" को आयोजनामा उक्त बिद्यालयबाट २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंकसहित सफलता प्राप्त गर्ने ७६ जना विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमका बीच सम्मान गरिएको छ।

    श्री गणेश मा.वि. २०५४ सेरोफेरोका अध्यक्ष अनिल देव नकर्मीले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा उत्प्रेरक कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाउँदै भन्नुभयो, "विद्यालयसँगको सम्बन्ध जीवनभरको हो।"  सहपाठी साथीहरू एकजुट भएर, एकैठाउँमा भेला भई आफू दीक्षित भएको विद्यालय र त्यसको विद्यार्थीहरूको हौसला बढाउने काम गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो।  

    उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुर्व प्रधानाध्यापक भीमसेन खत्रीले सम्बोधन गर्दै शिक्षा जीवनको मेरुदण्ड भएको प्रस्ट्याउनु भयो। सोही विद्यालयबाट दीक्षित विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेको स्मरण गराउँदै गर्वको महसुस भएको बताउनु भयो।  यस्ता सम्मानले विद्यार्थीहरूलाई अझ प्रेरित बनाउने विश्वास पनि व्यक्त गर्नु भयो।  

    कार्यक्रमका अतिथि, श्री गणेश मा. बि २०५४ सेरोफेरोका सहपाठी, बुढानिलकण्ठ नगरपालिका-४ का अध्यक्ष श्रीराम केसीले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने शिक्षक र असल परिणाम ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको विचार राख्नु भयो।  

    उक्त विद्यालयबाट ७६ जना विद्यार्थीहरूले एसइई परीक्षा उत्तीर्ण गरेका थिए । उनीहरूका अभिभावकहरू तथा शिक्षकशिक्षिकाहरूलाई समेत सम्मान गरिएको थियो।