२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon

खावामा बाँडियो १६ सय सुन्तलाको बिरुवा



  • आफ्नै खबर
  • २३ असार २०८२ सोमबार (७ घण्टा अघि)
  • पाठक संख्या ४३
  • भोजपुर/  टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो । 

    केराबारी र रेम्बुकमा सुन्तलाको व्यावसायिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई सुन्तलाको बिरुवा वितरण गरिएको वडाध्यक्ष सुनिल राईले बताउनुभयो । 

    कृषि पकेट कार्यक्रम अन्तर्गत वडाले दुई लाख रुपैयाँ विनियोजन गरेर किसानलाई बिरुवा वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । वडामा भूगोल सुहाउँदो खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ । 

    ‘किसानको आय वृद्धि र उत्पादन बढाउने उद्देश्यले व्यवस्थित योजनासहित अघि बढिरहेका छौँ’ वडाध्यक्ष राईले भन्नुभयो, ‘हामीले व्यावसायिक कृषिमा लाग्ने किसानलाई लक्षित गरेर कृषि पकेट क्षेत्र निर्धारण गरेका छौँ । सोही आधारमा बर्सेनि कृषिमा लगानी गरिरहेका छौँ ।’

    वडाध्यक्ष राईका अनुसार ७५ प्रतिशत वडा र २५ प्रतिशत किसानको लागत साझेदारीमा बिरुवा खरिद गरिएको हो ।

    मागको आधारमा पहिलो चरणमा यहाँका ३६ जना किसानलाई एक हजार ६ सय वटा सुन्तलाको बिरुवा वितरण गरिएको छ । पकेट क्षेत्रका करिब डेढ सय किसान सुन्तला खेतीमा आबद्ध छन् । वडाले व्यावसायिक कृषि विस्तारका लागि विभिन्न उपाय अवलम्बन गर्दै आएको जनाएको छ । 

    विगत दुई वर्षमा मझौले, चोलन्ती, खावा भञ्ज्याङ र रमिते क्षेत्रमा किबी खेती प्रवर्द्धन गर्न करिब दुई हजार किबीका बिरुवा वितरण भइसकेको छ । सुन्तला र किबी खेतीलाई निरन्तरता दिँदै वडाले रोग नियन्त्रण औजार, औषधि, तालिम, जडीबुटी (जस्तै चिराइतो, सुतवा)तथा  बीउ वितरण कार्यक्रमलाईसमेत अघि सारेको जनाएको छ ।

    –रासस