२५ असार २०८२ बुधबार | 09 Jul 2025 Wed

पर्यटक लोभ्याउँदै ढाक्मरका राताम्मे पहाड र गुफा



  • सुन्दरकुमार थकाली
  • २५ असार २०८२ बुधबार (७ घण्टा अघि)
  • पाठक संख्या ६३
  • मुस्ताङ/  लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै अवस्थित छ ।

    पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग जोडिएको स्थानीय बताउँछन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेलका अनुसार ढाक्मर पहाड राताम्मे हुनको पछाडि गुरु पद्यसम्भवको कथासँग जोडिएको छ । 

    उहाँले भन्न्भयो, ‘आठौँ शताब्दी ताका मुस्ताङको घमी खोला नजिक उत्तरतर्फ गुरु पद्यसम्भवले धर्मविरोधी राक्षसको भुँडी चिरेर आन्द्राभुडी घमी खोलामा फ्याँकेको र त्यस क्रममा राक्षसको रगत निकालेर ढाक्मर गाउँको विशाल पहाडमा मिल्काइएकाले उक्त पहाड राताम्मे भएको किंवदन्ती छ ।’

    घमी खोला नजिक राक्षसको आन्द्राभुँडी निकालेर फालेकाले त्यहाँ राक्षसको आन्द्राभुडी आकृतिको करिब २०० मिटर लामो पर्खाल निर्माण गरिएको छ । राक्षसको रगतले पोतिएकाले ढाक्मरको विशाल पहाड रातो हुन पुगेको धार्मिक जनविश्वास रहेको अध्यक्ष छोम्फेलको भनाइ छ ।

    भौतिक पूर्वाधार निर्माण गर्न थालेसँगै ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउन थालेका छन् । पछिल्लो समय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई जोड दिन थालेपछी आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको लोघेकर दामोदरकुण्ड गाउँपालिका कार्यालयले जनाएको छ ।

    ढाक्मर गाउँ नजिकको विशाल पहाडको लम्बाइ करिब दुई किलोमिटरभन्दा बढी छ । उत्तरी कोरलानाका र उपल्लो मुस्ताङको भ्रमण गर्ने जोकोही पर्यटकले मुस्ताङको घमी पुग्दा यहाँँ अवस्थित राताम्मे पहाड देख्न सक्छन् । 

    उहाँले भन्नुभयो, ‘यहाँको पर्यटन प्रवर्द्धन तथा आवश्यक प्रचारप्रसार नहुँदा कलात्मक पहाड र ऐतिहासिक महत्त्वबारे पर्यटन बेखबरजस्तै हुने गरेका पायौँ ।’

    ऐतिहासिक तथा धार्मिक मान्यता रहेको कलात्मक छिद्रछिद्रमा एक सयभन्दा बढी गुफा रहेका अध्यक्ष छोम्फेलले जानकारी दिनुभयो । यहाँ थुप्रै छिद्रछिद्र गुफा रहे पनि ढाक्मर गाउँ नजिक जियो पार्क आसपास रहेको पहाडमा अवस्थित केही गुफालाई पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार निर्माण भइरहेको उहाँले उल्लेख गर्नुभयो ।  

    ढाक्मर गाउँको जियोपार्क सम्पदासँग जोडिने गरी यहाँको अग्लो स्थानस्थित गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिँढी बाटो निर्माण गरेको अध्यक्ष छोम्फेलको भनाइ छ ।

    ‘जियो गुफासम्म पुग्न अहिले केही कठिन छ । चालु वर्ष हामीले १५ लाख रुपैयाँ खर्च गरेर गुफासम्मको रेलिङ र सिँढीसहित आधा बाटो निर्माण गरेका छौँ’, अध्यक्षले भन्नुभयो, ‘आगामी आवमा गुफासम्म पुग्ने सम्पूर्ण पूर्वाधार निर्माण गर्नेगरी २५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । अब यस क्षेत्रको पर्यटन विकासमा गाउँपालिकाले योजनाबद्ध काम गर्नेछ ।’

    ढाक्मर गाउँ नजिकको पहाडमा करिब दुई हजार वर्ष पहिले खोपेर गुफैगुफा निर्माण गरिएको लोघेकर–२ का वडाध्यक्ष थुक्तेन छिरिङ गुरुङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ बस्ती निर्माण हुनु अघि यहाँका पहाड मानिसले खोपेर गुफा बनाई आश्रय लिने गरेका जानकारहरू बताउँछन् । यहाँ दर्जनौँ छिद्रछिद्र गुफाहरू अवस्थित छन् ।’ 

    गाउँ नजिक रहेका गुफालाई स्थानीय र पालिकाको सहकार्यमा जियो पार्कका रूपमा विकास गर्न सुरु गरिएको वडाध्यक्ष गुरुङले जनाउनुभयो । जियोपार्क गुफामा विदेशी पर्यटक ध्यानसाधना गर्न आउने गरेका उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘राताम्मे जियोपार्क गुफाबाट नीलगिरि हिमाल र आसपासका हिमशृङ्खला मनमोहक र सुन्दर देखिन्छन् । यसलाई ध्यानसाधना केन्द्र मात्रै होइन, दृष्यावलोकन गर्न मिल्नेगरी पूर्वाधार निर्माण भइरहेका छन् ।’

    जियोपार्क गुफा प्रवर्द्धन गर्न लोघेकर दामोदरकुण्डसँगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि सहकार्य गरेको छ । कार्यालयले मानव निर्मित जियोपार्क गुफामा रेलिङसहितको जियो प्रोटेक्सनवाल निर्माण गरिरहेको कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो ।

    उहाँले गुफाबाट सजिलै बिनाजोखिम दृष्यावलोकन गर्न सकिने गरी चालु आवमा १० लाख रुपैयाँ बजेट खर्चिएर वाल निर्माण गरिएको बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना बढी रहेकाले पर्यटन प्रवर्द्धन गर्न स्थानीयवासीसँग सहकार्य गरिएको उल्लेख गर्नुभयो । 

    कृषि र पशुपालन व्यवसायमा आश्रित ढाक्मर गाउँका स्थानीय विस्तारै पर्यटनसँग जोडिने दर्जीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोही कारणले यहाँ ठूलो क्षेत्रफलमा हरियाली जियोपार्क निर्माण गरिसकेका छौँ । केही वर्षअघि पार्क वरिपरि प्रदेश सरकारले ३० लाख रुपैयाँबाट कम्पाण्ड घेराबार गरेको थियो । साथै पार्कभित्र छप्पनी ढुङ्गा बिच्छ्याएर पेटी निर्माण भएको छ ।’

    पार्कलाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीयले ६५ लाख रुपैयाँ चन्दा सङ्कलन गरी विशाल बुद्धको मूर्ति स्थापना गरिएको स्थानीयको भनाइ छ ।

    जोमसोम–कोरला सडकबाट पश्चिमतर्फको दुई किमी दूरीमा ढाक्मर गाउँ पुग्न सकिन्छ । मुस्ताङको घमी हुँदै पनि ढाक्मर गाउँ पुग्न सकिन्छ । यहाँको कच्ची सडक हुँदै विश्वको पहिलो र पुरानो दाबी गरिएको मराङमा अवस्थित लोघेकर अर्थात् घर गुम्बा पुग्न सकिन्छ ।

    –रासस