२७ असार २०८२ शुक्रबार | 11 Jul 2025 Fri

बङ्गुरका पाठापाठी बेचेरै वर्षको १२ लाख



  • आफ्नै खबर
  • २६ असार २०८२ बिहिबार (१४ घण्टा अघि)
  • पाठक संख्या ७०
  • कैलाली/  धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आउनुभएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उहाँको फार्मबाट वार्षिक ३० लाख रुपैयाँबराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ । 

    खर्च कटाएर औसतमा वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उहाँले बताउनुभयो । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी ६ हजारमा बिक्री गर्ने गर्नुभएको छ ।

    बङ्गुरपालनबाट गरेको कमाइले उहाँले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताउनुभयो । ‘बङ्गुरपालन राम्रै फापेको छ’, उहाँले भन्नुभयो, ‘यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो । अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु । जसबाट घर परिवारका सदस्यले काम पाए ।’ 

    चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष ९० हजार रुपैयाँ अनुदान प्राप्त गर्नुभएको छ । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उहाँले बताउनुभयो । उहाँ सफल कृषकका रुपमा समेत पुरस्कृत भइसक्नुभएको छ ।

    सुरुका वर्षमा मासु बिक्री गर्नुभएका उहाँले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताउनुभयो । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, वधशाला स्थापना गरिदिए अझै सहज हुने उहाँको भनाइ छ ।

    –रासस