२७ असार २०८२ शुक्रबार | 11 Jul 2025 Fri

धरहराले सात महिना नपुग्दै कमायो झण्डै पाँच करोड



  • आफ्नै खबर
  • २७ असार २०८२ शुक्रबार (७ घण्टा अघि)
  • पाठक संख्या ५६
  • काठमाडौँ/  २०७२ सालको भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट चार करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।   

    गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिनुभयो ।  

    उहाँका अनुसार यस अवधिमा दुई लाख ६२ हजार पाँच सय ५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा एक हजार पाँच सय ४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार दुई सय जनाले धरहरा चढ्ने गरेका छन् ।    

    ‘बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन’, व्यवस्थापन एकाइ प्रमुख राईले भन्नुभयो, ‘बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार पाँच सयभन्दा बढीले धरहरा चढ्ने अनुमान छ ।’

    यस्तो छ शुल्क
    धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि  प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।  

    यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ निर्धारण गरिएको बताइएको छ ।

    त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ । 

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो । 

    -रासस