२९ असार २०८२ आईतबार | 13 Jul 2025 Sun

बाख्रा पालेर पनि विदेशको भन्दा वढी कमाइ



  • आफ्नै खबर
  • २८ असार २०८२ शनिबार (१ दिन अघि)
  • पाठक संख्या ५०
  • कैलाली/  गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका–९ का खेमबहादुर चन्दका दम्पती भने कृषि तथा पशुपालनमा जमेका छन् । 

    चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगेका छन् । वडा नं ९ मा खेमबहादुर चन्द र रिजना चन्दले २०७७ सालदेखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन् ।

    अरुणोदय मावि खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन् । अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन् । चन्द दम्पतीले बाख्रापालनबाट वार्षिक पाँच लाख रुपैयाँसम्म कारोबार गर्ने गरेका छन् । यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन् ।

    सुरूमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । ‘बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन । बाँधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ’, खेमबहादुरले भन्नुभयो, ‘सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ । बाँधेर पाल्दा दाना र घाँस बढी चाहिन्छ ।’

     यही पेसाबाट जीवन चलाइरहेका चन्द दम्पतीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ । 

    ‘हामीजस्ता वास्तविक किसानलाई अनुदान सहयोग हुनुपर्छ । आयोजनाले गरेको सूचनाअनुसार सहयोग लिइरहेका पनि छौँ’, रिजना चन्दले भन्नुभयो, ‘आयोजनाले खोर सुधार, खोर मर्मतमा सघाएको छ । घास काट्ने मेसिन, बोका सहयोग पाएका छौँ ।’

    विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछी उनीहरूले उत्पादन बढाउन थालेका हुन् । बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ । यतिखेर उनीहरूको फर्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन् ।

    लिजमा लिएको यही जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गर्नुभएको छ । यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन् । बोका भने सिँचाइ आयोजनाले बोयर जातको दिएको रिजनाको भनाइ छ । 

    सुरूसुरूमा बाख्रा पाल्दा रोग लागेर समस्या झेलेका चन्द दम्पतीले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोग बारे बुझेको बताउँछन् ।

    ‘पशुपालन गर्दा हुने क्षतिबाट जोगिन बाख्राको बिमा गर्ने गरेका छौँ । पहिलो वर्ष ज्ञान नहुँदा क्षति बेहोर्यौँ’, खेमबहादुरले भन्नुभयो, ‘अब त कुन रोग लाग्यो भनेर सामान्यतया अड्कल पनि गरिहाल्छौँ । सजिलोसँग बूढाबूढी मिलेर काम गरिरहेका छौँ ।’

    यही बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन् । बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ । बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उहाँले बताउनुभयो । 

    सिँचाइ आयोजनाका पशु प्राविधिक पुष्पराज भारती चन्द दम्पतीले मेहनतअनुसारको फल लिइरहेको बताउनुहुन्छ । ‘मेहनत गरेर पेसामा टिक्नुभएको छ’, उहाँले भन्नुभयो, ‘बाख्रापालनसँगै खेतीपाती पनि गरिरहेकाले उहाँहरूलाई यही पेसामा टिक्न सहज भएको छ । त्यसैले लाग्छ, बाख्रा पालेर बसेपनि विदेश जानु पर्दैन ।’ 

    यस क्षेत्रका महिला पुरुष पछिल्लो समय रोजगारीका लागि भारतको बैङ्गलोर जाने गरेका छन् । यसरी जाने परिवारले सामान्यतया मासिक ३०/३५ हजार भारतीय रूपैयाँ कमाउने गरेका छन् । यतिखेर यस क्षेत्रका नेपाली दम्पती सयौँको सङ्ख्यामा बैङ्गलोर गएका छन् ।

    –रासस