पर्वत/ पर्वतको महाशिला गाउँपालिकाभित्र रहेका सबै सडकलाई हरित सडकका रूपमा विकास गरिने भएको छ । विकास, वातावरण र पर्यावरणलाई संरक्षण गर्दै हराभरा सडक बनाउने उद्देश्यले हरित सडक बनाउन लागिएको हो ।
पालिकाभित्र रहेको एक सय ८३ किलोमिटर सडकका दायाँ र बायाँ फलफूल, डालेघाँस र फूलका बिरुवा रोप्न लागिएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभित्रका अधिकांश सडक कच्ची रहेका छन् । जसमध्ये २२ किलोमिटर कालोपत्र तथा ढलान र २३ किलोमिटर सडक सोलिङ गरिएको छ । सडकलाई बाहै्रमास सञ्चालन गर्नका लागि वर्षायाममा बाढी नियन्त्रण गर्न ४० जना स्वयंसेवक समेत परिचालन गरिएको छ ।
गत असार १० गते सम्पन्न गाउँसभाले हरित सडकका लागि १० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । अपुग बजेट आगामी गाउँसभाबाट संशोधन गरेर विनियोजन गरिने अध्यक्ष भुसालले बताउनुभयो । गाउँपालिकाले ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तर्गत छनोट गरेका चार सय जना स्वयंसेवक परिचालन गरी सडकका दायाँबायाँ रूखबिरुवा रोपिने उहाँले बताउनुभयो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालयसँग पनि डालेघाँस र फलफूलका बिरुवा माग गरिएको र अपुग बिरुवा पालिका आफैँले व्यवस्थापन गरेर रोपिने भएको छ । हरित सडक बनेपछि भूक्षय तथा बाढीपहिरोजस्ता प्रकोप न्यूनीकरण हुने र सडकको सुरक्षा समेत हुने उहाँले बताउनुभयो ।
भिरालो र पहाडी क्षेत्र बढी भएको महाशिलामा वर्षायाममा अधिकांश सडकमा बाढीपहिरोको समस्या आउने गरेको छ । दायाँबायाँ रुखहरू रोपेपछि बाढीपहिरोको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको अध्यक्ष भुसालको भनाइ छ ।
‘बिरुवा उपलब्ध भएपछि दश/पन्ध्र दिनमै रोपेर सक्छौँ’, अध्यक्ष भुसालले भन्नुभयो, ‘बहुउपयोगी बिरुवा रोप्ने योजना रहेको छ ।’
महाशिलामा अब नयाँ मार्ग खोल्नुपर्ने अवस्था नरहेकाले पुराना सडकलाई व्यवस्थित गर्न थालिएको हो । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेटले सडक कालोपत्र, स्तरोन्नति, नाली निर्माणलगायतका काम भइरहेको उहाँको भनाइ छ ।
जिल्लाको सबैभन्दा सानो पालिकाका रूपमा रहेको महाशिलाले आगामी आर्थिक वर्षको बजेटमा समेत कृषि र पूर्वाधारलाई जोड दिएको छ ।
पालिकाले यसअघि बाँझो रहेको जग्गा सदुपयोग गर्नका लागि फलफूलखेती विस्तार गर्दै आएको छ । ओखर, मेकाडेमिया नट, तरुललगायत बाँदरले नष्ट गर्न नसक्ने अन्यखालका फलफूलखेती विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष धनशोभा विकले जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस