काठमाडौँ/ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरूलाई नेपालमै बस्न आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उहाँले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा व्यावसायिक रुपमा अपार सम्भावना छन् । नेपालमा जस्तो सम्भावना अन्यत्र छैन । म पनि वैदेशिक रोजगारीका सिलसिलामा जापानमा गएर काम पनि गरेको छु । अनुभवका आधारमा मैले नेपालका हरेक क्षेत्रमा सम्भावना देखेको छु ।’
उहाँले सरकारले गर्न खोजेको र समाजको आवश्यकता सम्बोधन हुने खालको काम गर्न सकियो भने सफल हुन समय नलाग्ने उल्लेख गर्नुभयो । नेपालमै पढ्न र नेपालमै अवसर खोज्नका लागि पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले थप्नुभयो, ‘म सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ । सानै उमेरदेखि नै व्यवसायिक क्षेत्रमा केही गरौँ भन्ने सोच थियो । महत्वाकाङ्क्षी नभइ इमानदार भएर काम गर्ने हो भने सफल भइन्छ भन्ने मेरो अनुभव छ ।’
उहाँले नेपालमा राम्रा कलेज र विश्वविद्यालय भएको उल्लेख गर्दै पढ्नका लागि विदेश जानुपर्ने अवस्था अहिले नरहेको बताउनुभयो । आफू विश्वका सबै जसो देशमा पुगेको बताउँदै ढकालले नेपाल जस्तो सम्भावना, अवसर भएको ठाउँ अन्यत्र नभएको बताउनुभयो ।
कक्षा १२ पूरा गरी उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरूका लागि लक्षित गरी मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी), सुनौलो नेपाल, परिवर्तनका लागि युवा (युथ फर चेन्ज), वाइइडी टक्स र इन डेप्थ स्टोरी (आइडिएस)ले महोत्सव आयोजना गरेको हो ।
युवा तथा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
–रासस
प्रतिक्रिया दिनुहोस