३० असार २०८२ सोमबार | 14 Jul 2025 Mon

‘चालीस रोपनीमा गोलभेँडा फैलाएपछि किन जानुपर्‍यो विदेश ?’



  • आफ्नै खबर
  • २९ असार २०८२ आईतबार (११ घण्टा अघि)
  • पाठक संख्या ६९
  • पाँचथर/  आजभोलि प्रायजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायित हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहनुभएको छ । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ । 

    तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उहाँको परिवारलाई भ्याइनभ्याइ छ । बीस रोपनी क्षेत्रफलमा लगाइएको गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ । 

    ‘आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ । अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन’, तिम्सिनाले भन्नुभयो, ‘गाउँघरमा कामले भने कहिल्यै छाड्दैन ।’

    तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ । यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्धकीमा लिइएको हो ।

    यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ । ‘पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ’, २७ वर्षका कमलले भन्नुभयो, ‘सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ ।’

    तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो ।

    एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ । 

    अहिले व्यवसायीहरूले प्रतिकिलो २० रुपैयाँमा गोलभेँडा खरिद गरेर लगिरहेका छन् । तर १० वर्षको अवधिमा गोलभेँडाले कहिले प्रतिकिलो दुई रुपैयाँ ५० पैसा मूल्य पायो त कहिले ७० रुपैयाँसम्म । ती सबै अनुभव यो परिवारसँग छ ।

    ‘गोलभेँडालाई २० रुपैयाँ वा सोभन्दा बढी दाम (मूल्य) आयो भने घाटा लाग्दैन’, तिम्सिनाले भन्नुभयो, ‘३० रुपैयाँभन्दा बढी मूल्यमा बिकेको समयमा राम्रो आम्दानी र बचत हुन्छ ।’

    गोलभेँडाको मूल्य बजारमा कहिले माथि हुन्छ भने कहिले निकै कम । तर कहिल्यै हिम्मत नहारी तिम्सिना परिवारले खेती गरिरहेको छ । 

    कमलले भन्नुभयो, ‘मूल्य कम भए पनि हामीलाई ठीकै छ । गोलभेँडाबाट हामी सन्तुष्ट छौँ ।’ यस वर्ष तिम्सिना परिवारले आठ हजार खुर्सानी र ६ हजार गोलभेँडाका बिरुवा लगाएको छ । खर्च कटाएर वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको कमल सुनाउनुहुन्छ । 

    यहाँ गोलभेँडा फागुन/चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ । गोलभेँडामा सामान्य विषादी लगाउने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ । 

    उत्पादन भएको कृषि उपज सस्तो मूल्यमा भए पनि बिक्री भने भइरहेको छ । यहाँ गोलभेँडा, खुर्सानीलगायत कृषि उपज उत्पादन गर्ने किसानहरूले प्रायः एकै व्यवसायीलाई आफ्ना उत्पादन बिक्री गर्ने गर्छन् । जसकारण कम मूल्य भए पनि उत्पादित सामग्री उठ्ने गरेको छ । 

    हुन त कमलले विदेश जाने कुरा नसोच्नुभएको भने होइन । तर आकर्षक रोजगारीमा जान लगानी धेरै लाग्ने भएपछि कमलको मन गाउँमै अडियो ।

    ‘विदेश जानचाहिँ खोजेको हुँ । तर पछि मन लागेन । लगानी धेरै लाग्छ भनेपछि गाउँमै खेती गर्छु भनेर यतै बसेँ’, कमलले भन्नुभयो, ‘गाउँमा पनि आम्दानी ठिकै थियो । परिवारसँगै बसेर केही आम्दानी हुँदैछ भने किन विदेश जाने भन्ने लाग्यो ।’

    कमलकी आमा टीकादेवी तिम्सिना छोरो विदेश नगई गाउँमै खेती गरिरहेकामा खुसी हुनुहुन्छ । 

    ‘विदेश गए पनि दुःख उत्तिकै गर्नुपर्छ होला भन्ने लाग्छ । विदेश जाँदा पैसाचाहिँ अलि बचत हुन्थ्यो होला’, टीकादेवीले भन्नुभयो, ‘यहाँ जति आम्दानी भए पनि बचाउन मुस्किल पर्छ । तर घरमै बसेर पनि केही आम्दानी त भइरहेकै छ ।’ 

    हुन त यो क्षेत्रका सबैले सब्जी खेती गर्दछन् । प्रत्येक घरले दुईदेखि तीन पिकअप गोलभेँडा उत्पादन गर्ने गरेको कमलका छिमेकी दिलबहादुर राईको भनाइ छ । किसानले राम्रो उत्पादन गरे पनि कृषि उपजले मूल्य नपाउँदा बेलाबखत आफूहरू निराश हुने गरेको राईको भनाइ छ । 

    गत वर्ष एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री गरेको खुर्सानी अहिले प्रतिकिलो ३० रुपैयाँमा बिक्री भइरहेको किसानहरू बताउँछन् । खुर्सानी टिप्ने कामदारले एक दिनमा ४० किलो खुर्सानी टिप्छन् । कामदारलाई दैनिक पाँच सय रुपैयाँ ज्याला दिनुपर्छ ।

    ‘अहिले खुर्सानीले साँवा पनि नउठाउने स्थिति छ’, कमलले भन्नुभयो, ‘गोजीको पैसा लगाएर भए पनि बारीमा लगाएको खुर्सानी खेर जान दिनु भएन । बजारमा पठाउनु त पर्यो नै । अहिले किसानलाई गाह्रो छ ।’

    –रासस