२० भदौ २०८२ शुक्रबार | 05 Sep 2025 Fri

काठमाडौँ महानगरपालिकाले ल्यायो झण्डै २६ अर्बको बजेट



  • आफ्नै खबर
  • २९ असार २०८२ आईतबार (२ महिना अघि)
  • पाठक संख्या १०१
  • काठमाडौँ/  आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

    महानगरका उपप्रमुख सुनिता डङ्गोलले आज काठमाडौँ महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गर्नुभएको हो । 

    उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च २५ अर्ब ११ करोड ४३ लाख ११ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम ६५ करोड रुपैयाँ सञ्चित कोषमा भार नपर्ने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर विनियोजन गरिएको छ ।’

    बजेटको स्रोतमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैङ्क मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ व्यहोरिने जनाइएको छ ।

    यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँडबाट प्राप्त हुने चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ ।

    आगामी आवका लागि राजस्व सङ्कलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गर्नेलगायत नीति अवलम्बन गरिने जनाइएको छ । 

    महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।