३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

आहा !  ढोरपाटन



  • आफ्नै खबर
  • ३० असार २०८२ सोमबार (१० घण्टा अघि)
  • पाठक संख्या ८१
  • बागलुङ/  यतिबेला ढोरपाटन उपत्यका ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलाबी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ ।

    एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए । जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे । दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले छुनै सकेको थिएन । 

    तर पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रङ्गीचङ्गी वनफूलसँग पिरती नगाँसी फर्किदैनन् । खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ । अझ पाटनभरि फूलेका वनफूलले यहाँको सुन्दरतालाई बढाएको छ ।

    सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रचारले वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढी रहेका छन् । यो याममा दैनिक दुई सय बढी पर्यटक वनफूलसँग रमाउन ढोरपाटन उपत्यकामा पुग्ने गरेका छन् ।

    स्थानीयले राके फूलका रुपमा चिन्ने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ । फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढेको छ । देशका ठूला सहरबाट बढी पर्यटक रमाउन आउने गरेका छन् ।

    फूलसँग रमाउन आउने पर्यटकको सङ्ख्या बढेपछि ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसायसमेत फस्टाउन थालेका छन् । पहिले ढोरपाटन आउने पर्यटकले खासै चासो नदिए पनि हरेक पर्यटकको ध्यान पाटनभरी फूलेका फूलले खिच्ने गरेको होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले बताउनुभयो ।

    पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या अत्याधिक बढेको भन्दै फूलसँग रमाउने बढी भएको उहाँको भनाइ छ । पहिले खान बस्नका लागि सुविधा नहुँदा पर्यटक कम आउने गरेको स्मरण गर्दै अहिले धेरै होटल तथा घरबास (होमस्टे) सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेका लागि पहिलो रोजाइ परेको घर्ती मगर बताउनुहुन्छ ।

    वनफूललाई पर्यटकले अत्यधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘वनफूलको पहिले खासै महत्व थिएन । मान्छेहरू मन्दिरमा आएर पूजा गरेर जान्थे तर अहिले पाटननै घुम्ने गरी आउँछन् । त्यसले गर्दा उनीहरूको रोजाइ वनफूल परेको छ ।

    वनफूलले पछिल्लो समय हजारौँ पर्यटकलाई आकर्षित गरेको छ । यसको संरक्षण भने हुन सकेको छैन । स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ । नत्र, पछि यो फूल मासिन पनि सक्छ ।’

    वनफूल पाटनभरि फुल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । पछिल्लो समय पाटनमा जथाभावी रुपमा सवारीसाधान चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उहाँको भनाइ छ । 

    पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फूलेको पुनले बताउनुभयो । बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उहाँको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउने अध्यक्ष पुनले सुनाउनुभयो । 

    वनफूल खासगरी असार पहिलो सातादेखि भदौ महिनासम्म पाटनमा रहने उहाँको भनाइ छ । वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउनुहुन्छ ।

    ‘वनफूलसँग रमाउन मान्छेको घुइँचोनै लाखेको देख्दा हामीहरु निकै चकित छौँ । किनकी यहाँ त धेरै वर्ष पहिलेदेखि बस्दै आएका छौँ । पहिले कोही पनि मान्छे फाँटमा पुगेर फुल टिप्ने गर्दैनथे । तर, अहिले ढोरपाटन आउने हरेक मान्छेले फाँटको बिचमै गएर फूल टिपेर फोटो खिच्छन्’, उहाँले भन्नुभयो, ‘फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटल व्यवसाय पनि चलायमान बनेको छ ।’

    ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटनसमेत उक्लिने गरेका छन् । ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्नका लागि करिब पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ । यति बेला समूहमा वनफूलसँग रमाउन आउने बढी छन् । बुटवलदेखि आउनुभएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुङ्ग भएको बताउनुभयो । 

    बुटवलमा अत्याधिक गर्मी रहेको हुँदा एक साताका लागि ढोरपाटन आएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखिपछि आफूहरु यहाँ आएको गिरीले सुनाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘आहा ! ढोरपाटन कत्ति सुन्दर रहेछ । पोहोर साल हाम्रो साथीहरु यहाँ आएर फोटो र भिडियो खिचेर लगेका थिए । त्यो देख्दा आउन मन लागेको थियो । यसपाली आउने मौका मिल्यो । यहाँ आएपछि त स्वर्गमै आए जस्तो भयो । बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ । फूलसँग रमाउन त निकै मज्जा आउँदो रहेछ । यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको रैनछ ।’

    –रासस