३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

राष्ट्रिय परिचयपत्र बनाउन शिविर सञ्चालन



  • आफ्नै खबर
  • ३० असार २०८२ सोमबार (१० घण्टा अघि)
  • पाठक संख्या ५१
  • बैतडी/  दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सञ्चालन गरिएको छ । गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरु भएको विवरण सङ्कलनको काम साउन २० गतेसम्म सञ्चालन हुने भएको हो । 

    हालसम्म एक सय ४३ जनाको विवरण सङ्कलनको काम भएको रूजी अधिकारी तुलाराम भट्टले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो ।

    यसअघि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता थियो । उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासन जान समस्या हुने ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरेका हौँ । दर्ता शिविरले गाउँपालिकामै सहजै रूपमा परिचयपत्र विवरणको काम भइरहेको छ ।’

    बैङ्क खाता खोल्दा तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भनिएको छ । धेरै लाभग्राहीको राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आएपछि दोगडाकेदार गाउँपालिकाले दर्ता शिविरको आयोजना गरेको हो ।

    गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । हजारौँ खर्च गरेर परिचयपत्रकै लागि सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका नागरिक गाउँपालिकामा परिचयपत्र बनाउन पाउँदा खुसी भएका हुन् ।

    गाउँपालिकामा नै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा खुसी लागेको स्थानीय फङ्के भाटले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परिचयपत्र बनाउनकै लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो । गाउँपालिकाले शिविर सञ्चालन हुँदा सदरमुकामको जानुपर्ने बाध्यता हटेको छ ।’

    शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड समेत बढ्न थालेको छ । राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई शिविरमा आएर परिचयपत्र बनाउन आग्रह गरिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।

    शिविरमा परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले जानकारी दिनुभयो । दुर्गमका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम आउन झन्झट हुने भएकाले गाउँपालिकामा नै टोली पठाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता बुझ्न, बैङ्क खाता खोल्नलगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको छ । त्यसका लागि धेरैको परिचयपत्र नहुँदा समस्या देखिएको गुनासो आएपछि गाउँपालिकामा नै टोली पठाएर विवरण सङ्कलनको काम थालेका हौँ ।’

    हाल जिल्लाको दोगडाकेदार र पाटन नगरपालिकामा विवरण सङ्कलनको काम भइरहेको छ । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि स्टेसन स्थापना गरेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम थालिने प्रजिअ पौडेलले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हाल  दोगडाकेदार र पाटनमा विवरण सङ्कलनको काम भइरहेको छ । पूर्वाधारको व्यवस्थापन र इन्टरनेटको व्यवस्था भएका अन्य पालिकामा पनि टोली परिचालन गर्छौँ ।’

    –रासस