मुस्ताङ/ मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बनेको छ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ दम्पती । उनीहरूले जीवनभर खाली जमिनमा गरेको मेहनतको फल प्राप्त गरिरहेका छन् ।
गुरुङ दम्पतीलाई कुनैबेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरूले कुरा काटेर हैरान पार्दथे । छिरिङ भन्नुहुन्छ, ‘तत्कालीन समय सम्झँदा नमज्जा लागेपनि अहिले भने राम्रै गरेको भन्ने लागिरहेको छ ।’ एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै गुरुङ दम्पतीमा मेहनत र परिश्रमको हुटहुटी चलेको देखिन्छ ।
कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक हुँदै उत्तरी सिमाना कोरला नाका जाने बाटो नजिकै तिरी गाउँ भए पनि विकट झैँ लाग्छ । एउटा पक्की पुलको आसमा उनीहरूले वर्षौँ बिताइसकेका छन् ।
कालीगण्डकी नदी पारी तिरी गाउँका स्थानीयसँगै गुरुङ दम्पती आम मुस्ताङवासी किसानको गतिलो उदाहरण बनेका छन् । सडक सञ्जालले सहज रुपमा नछोए पनि गुरुङ दम्पतीले स्याउ र च्याङ्ग्रा बेचेरै वार्षिक लाखौँ आम्दानी गर्छन् ।
गुरुङ दम्पतीले ङवाङ हिसी कृषि तथा पशुपक्षी अर्ग्यानिक फर्मको करिब एक रोपनीबाट सुरुवात गरेका थिए । अहिले समग्र मुस्ताङ जिल्लाकै नमूना किसानमा आफ्नो पहिचान बनाइसकेका उनीहरूको अहिले करिब ६० रोपनी क्षेत्रफलमा स्याउखेती फैलिएको छ ।
उनीहरूलाई दैनिकजसो आफ्नो समय स्याउ खेती स्याहार्ने, बगैँचा व्यवस्थापन गर्नेदेखि अन्य महत्वपूर्ण कार्यमा खर्चिनुपर्ने हुन्छ । बिहान उठेदेखि बेलुकीसम्मै पूरै समय किसान भएर काम गर्न पाउँदाको क्षण बडो आनन्द आउने उनीहरु बताउँछन् । यद्यपि स्याउ बगैँचा व्यवस्थापन र च्याङ्ग्रा हेरालुसहित अहिले उनीहरुसँग करिब आठ जना मजदुर पनि छन् ।
कुनैबेला व्यावसायिक स्याउखेती नहुने बगरमा बेकारको लगानी गर्यो भन्दै आङ्ग्या र छिरिङको खिसिट्युरी गर्ने गाउँलेहरू अहिले उनीहरूको सफलता देखेर चकित परेका छन् । करिब १८ वर्ष पहिला सन्तानको शिक्षादीक्षासहित घरखर्च चलाउने सोचबाट सुरु भएको स्याउखेतीले आम्दानी दिन थालेपछी आङ्ग्या र छिरिङ दम्पतीले उक्त फर्मको स्थापना गरेका थिए ।
निरन्तर मेहनत र परिश्रम गरे सफलता मिल्छ भन्ने ज्वलन्त उदाहरणको प्रमाण हुन् गुरुङ दम्पती । अहिले उनीहरु कडा मेहनत र परिश्रमकै कारण पछिल्लो केही वर्षमा समग्र मुस्ताङवासीको प्रेरणाको स्रोत बनेका छन् ।
पहाडको शिरमा पाँच सय भन्दा बढी च्याङ्ग्रा र खाली बगरमा रैथाने र आधुनिक स्याउखेती गरेर वार्षिक पचास लाखसम्मको आम्दानी भए पनि मेहनत धेरैनै हुने गरेको छिरिङ ढोका गुरुले बताउनुभयो ।
यसै वर्ष छिरिङ ढोका गुरुङ सरकारबाट, आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ दम्पती पुनः गण्डकी प्रदेश सरकारबाटसमेत वर्षको सर्वोत्कृष्ट किसानको रुपमा सम्मानित भएका छन् ।
छिरिङ ढोका गुरुङलाई दुई लाख रुपैयाँसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गुरुङ दम्पतीलाई गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेशको सर्वोत्कृष्ट किसान घोषित गरेको छ ।
शुक्रबार पोखरामा कृषि भूमि व्यवस्था तथा सहकारी कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठ, सचिव वासुदेव रेग्मीले ५० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्नुभएको हो ।
गुरुङ दम्पत्तीको स्याउ बारीमा अहिले करिब दुई हजार पाँच सय स्याउको बोट रहेकोमा यसवर्ष छिमेकी जिल्ला मनाङबाट पाँच सय बोट हाइडेन्सीटी (उच्च घनत्वमा उत्पादन हुने) प्रजातिको स्याउसमेत रोप्ने तयारी गर्नुभएको छ ।
गतवर्ष खर्च कटाएर ३५ लाख स्याउ बिक्रीबाट मात्रै आम्दानी गर्नुभएको छ । पाँच सय च्याङ्ग्रा रहेको फार्मबाट गतवर्ष १३ लाख आम्दानी गर्नुभएको थियो । जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि करिब १३ घरधुरी नै विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यावसायिक स्याउखेतीसहित पशुपालनमा सक्रिय गुरुङ दम्पत्तीको यतिबेला सङ्घर्ष र सफलताको चर्चा भइरहेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस