३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५७ प्रतिशत



  • आफ्नै खबर
  • ३१ असार २०८२ मंगलबार (७ घण्टा अघि)
  • पाठक संख्या ५८
  • पाल्पा/  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।

    हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७.५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१.१ प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को आठ सय ३४ मिटर काम सकिएको इन्जिनीयर ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार अहिले सुरुङमार्ग भित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ । 

    उहाँले भन्नुभयो, ‘सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय ५१ मिटर, दोस्रो एक सय ६१ मिटर र तेस्रो बाइपास एक सय ३० मिटर छ  । पहिलो बाइपासमा इन्भर्टको काम एक सय ४५ मिटर र दोस्रोमा एक सय २४ मिटर लाइनिङको काम सकिएको छ । तेस्रो बाइपासमा इन्भर्टको काम एक सय २५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ ।’

    दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने आयोजना प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । 

    उहाँका अनुसार सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सुरुङमार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ । 

    सुरुङमार्गको कामलाई निर्धारित समयमा सम्पन्न गर्न/गराउन, जनप्रतिनिधिले गर्नुपर्ने आवश्यक सहयोगका अनुगमनमा आएको प्रतिनिधिसभाका सांसद ठाकुरप्रसाद गैरेले बताउनुभयो । 

    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार एक सय २६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।

    सुरुङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ । 

    सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्याधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनीयर ज्ञवालीले बताउनुभयो ।

    उहाँका अनुसार यस सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् ।

    –रासस