म्याग्दी/ यहाँको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका आयोजनामार्फत ५२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । साथै ७० हेक्टर जमिनमा सिँचाइ सुविधाको स्तरोन्नति भएको डिभिजनले जनाएको छ ।
६ किलोमिटर पक्की नहर, ६.११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण गरेर सिँचाइ सुविधा विस्तार र स्तरोन्नति भएको डिभिजन प्रमुख झलकमोहन ओझाले बताउनुभयो ।
सिँचाइतर्फ २२ वटा योजनाका लागि चार करोड ८३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएकामा २१ वटा योजना कार्यान्वयन भएका छन् । सिँचाइमा विनियोजन भएको मध्य ९१.३१ प्रतिशत अथवा चार करोड ४१ लाख ४० हजार रुपैयाँ खर्च भएको छ ।
यसैगरी, नदी नियन्त्रण योजनाबाट बाढी र कटानको जोखिममा रहेका ६ स्थानमा ४० मिटर पक्की पर्खाल, दुई सय ५० मिटर ‘ग्याबिन’ पर्खाल निर्माण भएको छ । रघुगङ्गा–१ बेगमा पनि ग्याबिन निर्माण गरेर पहिरो रोकथामको प्रयास भएको छ ।
नदी तथा पहिरो नियन्त्रण योजनाबाट एक सय १० परिवार लाभान्वित र २.५ हेक्टर जमिन उकास भएको छ । नदी नियन्त्रण योजनाका लागि एक करोड ५० लाख ५० हजार रुपैयाँ विनियोजन भएकामा एक करोड ४७ लाख ६९ हजार रुपैयाँ खर्च भएको प्रमुख ओझाले जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस