चितवन/ जिल्लाका एक हजार दुई सय ५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि विकास कार्यालय चितवनले जिल्लाका नौ कृषक फर्ममा आबद्ध ती किसानहरूलाई बीउ उत्पादन गरेबापत एक करोड ४७ लाख ८० हजार रुपैयाँ बितरण गरेको हो ।
कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरूले एक हजार एक सय रुपैयाँ देखि एक लाख ४३ हजार रुपैयाँसम्म प्रोत्साहन रकम पाएका छन् । उनीहरूलाई उत्पादन र क्षेत्रफलका आधारमा प्रोत्साहन रकम बितरण गरिएको हो ।
उहाँले भन्नुभयो, ‘स्रोत बीउमा प्रति हेक्टर २० हजार रुपैयाँ र उन्नत बीउमा प्रति हेक्टर १५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम बितरण गरिएको हो ।’ गहुँ र धानको उत्पादनमा किसानहरूले प्रोत्साहन रकम पाएका हुन ।
कतिपय किसानहरूको भने जग्गा धनी पुर्जा तथा कागजात नमिलेका कारण प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उहाँले बताउनुभयो । उहाँका अनुसार नौ सय ६१.८३ हेक्टर क्षेत्रफलमा बीउ उत्पादन गर्ने ती किसानले प्रोत्साहन रकम प्राप्त गरेका हुन ।
कृषि विकास कार्यालय चितवनले ‘बीउ बिजन आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत भरतपुर महानगरपालिका र माडी नगरपालिकाका बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम बितरण गरेको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले असारको अन्त्यमा प्रदान गरिएको रकम किसानका लागि खेतीयोग्य समयमा राहत बन्ने बताउनुभयो ।
आगामी दिनमा थप किसान लक्षित कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । किसानहरूलाई जग्गासम्बन्धी कागजात व्यवस्थित गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस