९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

एक वर्षमा २१ खर्ब २५ अर्बको सेयर किनबेच



  • आफ्नै खबर
  • २ साउन २०८२ शुक्रबार (४ महिना अघि)
  • पाठक संख्या १४९
  • काठमाडौँ/  अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको छ । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जको विवरणअनुसार आव २०८०/८१ मा सात खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएकामा आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।

    कारोबार रकम आव २०८०/८१ को तुलनामा एक सय ८९.२३ प्रतिशतले बढी हो । यसअघि आव २०७७/७८ मा सबैभन्दा धेरै अर्थात् १४ खर्ब ५४ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।

    त्यसैगरी २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको सङ्ख्या दुई सय ७२ पुगेको छ । उक्त आवमा मर्जर तथा अक्विजिसन कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् ।

    ८० करोड ४२ लाख कित्ता सेयर थपिए
    त्यसैगरी, प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् । प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।  

    नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आव २०८१/८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैङ्कर, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मीसहित पुँजी बजारका सरोकारवाला सबैलाई धन्यवाद दिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।

    –रासस