३ साउन २०८२ शनिबार | 19 Jul 2025 Sat

आइपिओ जारी गर्दै प्रभु हेलिकप्टर



  • आफ्नै खबर
  • २ साउन २०८२ शुक्रबार (२४ घण्टा अघि)
  • पाठक संख्या ६३
  • काठमाडौँ/  प्रभु हेलिकप्टरले आफ्नो उडान सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । आफ्नो स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सुरक्षित र यात्रुमैत्री सेवा प्रवाहलाई बलियो बनाउने जनाएको छ । 

    वार्षिकोत्सवको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    एक दशकअघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण शेयर खरिद गरी प्रभु हेलिकप्टरका नामबाट सञ्चालनमा ल्याएको हो । 

    कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा प्रतिबद्ध भई निरन्तर लागेका छौँ । आगामी दिनमा पनि यात्रु तथा सेवाग्राहीबाट यही किसिमको माया र विश्वास पाउने अपेक्षा गर्दछौँ ।’ 

    प्रभु हेलिकप्टरले विशेष गरी मुलुकको पर्यटन क्षेत्रका साथै आकस्मिक उद्धार, सामग्री ढुवानीलगायतका क्षेत्रमा काम गरिरहेको छ । सुरुआती चरणमा एउटा रोबिन्सन हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुले हाल दुई एयरबस एच १२५ मार्फत उडान सेवा प्रवाह गरिरहेको छ ।

    कम्पनीले हाल पोखरा, काठमाडौँ र लाङ्टाङमा हेलिकप्टर टुर तथा साइटसिन सेवा उपलब्ध गराइरहेको छ भने मुक्तिनाथ, गोसाइकुण्ड, कालिञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ । साथै सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धारलगायतका सेवा उपलब्ध गराउँदै आएको छ । 

    सुरुमा कम्पनी ऐन, २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीको रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रालि २०७९ असार ३० गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीसँग पोखरामा आफ्नै ह्याङ्गर सुविधा उपलब्ध छ । 

    आइपिओ जारी गर्दै
    प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासनको तयारी गरेको छ । कम्पनीका अनुसार आइपिओ जारी गर्नका लागि आइपिओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

    –रासस