भोजपुर/ हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो ।
यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्न पदमार्गले टेवा पुर्याउने उहाँको भनाइ छ ।
‘गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा यो पदमार्गको विकास गरेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, ‘पर्यटनको माध्यमबाट आर्थिक पक्षलाई जोड्ने लक्ष्य छ । यसले गाउँपालिकाको विकासमा टेवा पुर्याउने अपेक्षा लिएका छौँ ।’
गाउँपालिकाको गौरवको आयोजनाका रूपमा पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । दूधकोशीको चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी, विराटनगरबाट ६५ किमि दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईले भन्नुभयो, ‘यो पदमार्ग गाउँपालिकाको गौरवको आयोजना हो । यो पदमार्गले गाउँपालिकाका मुख्य क्षेत्रलाई समेटेको छ । यसलाई हामीले छोटो दूरीको पदमार्गका रूपमा विकास गरेका छौँ ।’
पदमार्गलाई एक ऐतिहासिक पदमार्गका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको पदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको गाउँपालिकाले जनाएको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले घरबास (होमस्टे) सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
हरियालीसँगै फाँटिला पहाडका चौरहरूले पर्यटकहरूको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रमा तराई सहर नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की पुल निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ । यहाँ आउने पर्यटकलाई प्राकृतिक दृश्यावलोकन गर्दै दुईचार दिन बिताउन सक्नेगरी पदमार्गलाई व्यवस्थित गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
किरात राजाहरूले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताउनुभयो । यहाँका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकास भइरहेको वडाध्यक्ष विष्टले बताउनुभयो ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्गको प्रचारप्रसारको जोड दिइएको छ । हतुवागढीको सबैभन्दा अग्लो स्थान शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँट विभिन्न हिमशृङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा छ ।
–रासस
प्रतिक्रिया दिनुहोस