५ साउन २०८२ सोमबार | 21 Jul 2025 Mon

तोकेभन्दा पाँच महिना अगावै बन्यो पुल



  • आफ्नै खबर
  • ४ साउन २०८२ आईतबार (४ घण्टा अघि)
  • पाठक संख्या ५०
  • तनहुँ/  शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिनाअगावै पुल निर्माण भएको छ । आगामी पुस १३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यसको पाँच महिनाअगाडि नै पुल निर्माण भएको हो । 

    प्रसिद्ध तीनखोले मन्दिर जाने बाटोमा पक्की पुल निर्माणपश्चात् आवतजावतमा सहयोग भएको छ । निर्माण व्यवसायीले पटक–पटक म्याद थपेर पनि काम नसक्ने प्रवृत्ति व्याप्त रहेका बेला यहाँ सम्झौता अगावै पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएको स्थानीय शङ्कर सारुले बताउनुभयो । 

    सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो । डबल सेल बक्स डिजाइनको पुल दुई करोड ८० लाख ६० हजार रुपैयाँको लागतमा निर्माण गरिएको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । 

    २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मीले २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको थियो । प्रालिका प्रतिनिधि गगन केसीले सबैको सहयोगले समयअघि नै काम सम्पन्न भएको जानकारी दिनुभयो । 

    यो सडक खुलेको २७ वर्ष भएको छ । पृथ्वी राजमार्गबाट तीन किलोमिटरको दूरीमा अवस्थित तीनखोले देवी मोटरमार्गमा पर्ने कुम्लेखोलामा पक्की पुल नहुँदा बर्खामा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए । बर्खामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता अब अन्त्य भएको स्थानीय बालकुमार वाग्लेले बताउनुभयो । 

    खैरेनीटार बजारबाट कुम्लेखोला तरेर प्रसिद्ध तीनखोले देवीको मन्दिर पुगिन्छ । यहाँ पुल निर्माण भएपछि अब मन्दिर जाने भक्तजनको सङ्ख्यासमेत बढ्ने मोटरमार्ग उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका वाग्लेको विश्वास छ ।   

    शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बर्खामा ह्‍युमपाइप राखेर सवारी सञ्चालन गरे पनि खोला बढ्दा ह्‍युमपाइप नै बगाउने गरेको स्मरण गर्नुभयो । 

    –रासस