लमजुङ/ व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउनुहुन्छ । राजनीति र समाजसेवा समेत गर्दै आउनुभएका उहाँले विगत दुई वर्षदेखि अटो चलाउन थाल्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म कमाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई खानका लागि केही दुःख छैन । तर, केही काम त गर्नै पर्छ । केही पढ्दैमा अटो चलाउनु हुन्न भन्ने होइन । स्वरोजगार हुनु राम्रो हो । श्रम गरियो भने त्यसले घरमा पनि मेलमिलाप हुन्छ । आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ ।’
सुन्दरबजार र बेँसीसहरको रुटमा अटो चलाउने गरेको उहाँको भनाइ छ । बिहान ५/६ बजेदेखि राति ८/९ बजेसम्म अटो चलाउने र यसको अलाबा पार्टीको काममा खटिने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैनिक उक्त समयमा अटो चलाउने गरे पनि आकस्मिक कसैले कतै पुर्याउन अनुरोध गरेमा राति १२/१ बजे पनि पुर्याउने गर्छु ।’
उहाँका एउटी छोरी अष्ट्रेलिया, अर्की छोरी बेलायत, एउटा छोरा पोखरामा शिक्षक र बुहारी बैङ्कमा कार्यरत छन् । घरमा आफू र श्रीमती मात्र रहेको उहाँले बताउनुभयो । त्यसो त सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिमा द्वारिकाको छवि राम्रो छ ।
राजनीतिको चस्का
प्रष्ट वक्ता, सहयोगी भावना र लोकप्रियसमेत उहाँले राजनीतिको सुरुवात २०३७ सालमा माले निकट भातृ सङ्गठन अनेरास्ववियुमा आबद्ध हुँदै सुरु गर्नुभएको थियो । २०५२÷५३ सालमा एमाले परित्याग गर्नुभयो ।
पछि नेपाली काङ्ग्रेसमा आबद्ध हुँदैं २०६५/६६ सालतिर नगर सचिव, २०७० सालमा वडा नागरिक मञ्च संयोजक, २०७२ सालमा सुन्दरबजार नगर कमिटी सभापति हुनुभएको थियो ।
२०७४ सालमा काङ्ग्रेसबाट २०७४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने चाहना राख्नुभयो । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्नुभयो । तर उहाँ पराजित हुनुभयो ।
उहाँलाई काङ्ग्रेसले कारबाही गरेपछि स्वतन्त्र रूपमा सङ्गठन बनाएर सुन्दरबजारमा उद्योग वाणिज्य सङ्घ, खानेपानी जस्ता सङ्घसंस्थाका निर्वाचनमा उहाँको समूह निर्णायक बन्यो । २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि मिश्रले स्वतन्त्र उम्मेदवारी दिनुभयो र पराजित हुनुभयो ।
२०७९ सालको स्थानीय निर्वाचनमा मिश्रले पुनः सुन्दरबजारको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभयो । तर विजयी हुन सक्नुभएन ।
त्यसपछि २०७९ साउनमा एक सय ५० जनासहित मिश्र एमालेमा प्रवेश गर्नुभयो । त्यस पश्चात् नेकपा एमाले लमजुङको जिल्ला कमिटी सदस्य र सुन्दरबजार नगरको सहइन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभयो । पछि नगर कमिटीको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
राजनीतिक र सामाजिक रूपमा उहाँको छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा अटो चलाउन थालेर उहाँले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नुभएको छ । बेरोजगार भएर पनि सानोतिनो काम नगर्ने बरु नराम्रै काम गरेर पैसा कमाउन खोज्नेहरूका लागि उहाँ उदाहरण बन्नुभएको छ ।
२०४१ सालमा एसएलसी पास गर्नुभएका उहाँले २०५६ सालमा काठमाडौँको सरस्वती क्याम्पसबाट ‘एमबीए’ उत्तीर्ण गर्नुभयो । उहाँले १७ वर्ष लमजुङका विभिन्न विद्यालयमा शिक्षण पेसा गर्नुभएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस