कञ्चनपुर/ कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ । ग्राहकका बीचमा त्यही भेटिनुहुन्छ, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उहाँले आफ्नो परिवार चलाइरहनुभएको छ ।
करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । २०५१ सालमा भारतको नैनितालमा बसमा उहाँ सहचालकका रूपमा काम गर्दा दुर्घटनामा पर्नुभयो । उहाँको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उहाँ घर फर्किनु भयो ।
‘घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो’, उहाँले भन्नुभयो, ‘२०५४ सालमा मुगुबाट गजरौला झरेँ, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरेँ ।’
श्रीमती लक्ष्मीका साथमा उहाँ चिया, समोसा र पकौडा बनाउनुहुन्छ । दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउनुहुनछ । त्यसमा उहाँका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।
पसलकै कमाईले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उहाँले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गर्नुभएको छ ।
दैनिक दुई सय रुपैयाँ सहकारीमा बचत गर्ने उहाँले वार्षिक एक लाखसम्म बचत गर्ने गर्नुभएको छ । उहाँको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाईले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोग्नुभएको छैन ।
‘२०६० सालतिर आगलागीले पसलका सबै सामान जले’, उहाँ विगतलाई सम्झँदै भन्नुहुन्छ, ‘२०६४ सालमा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिन ।’
सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उहाँले बताउनुभयो । ‘हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ’, स्थानिय युवा सुरेश विक भन्नुहुन्छ, ‘स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उहाँले गरेको सङ्घर्ष अनुकरणीय छ ।’
उहाँका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हट्नुभएको छैन । उहाँले भन्नुभयो, ‘तिवारीको सङ्घर्ष देख्दा शारीरिक अपाङ्गता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ । पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ । तर श्रम, इमान र निरन्तरता छ । त्यसैले ग्राहले उहाँलाई रुचाउँछन् ।’
–रासस
प्रतिक्रिया दिनुहोस