७ साउन २०८२ बुधबार | 23 Jul 2025 Wed

विदेश छाडेर गाउँमै जैविक कृषि



  • आफ्नै खबर
  • ६ साउन २०८२ मंगलबार (८ घण्टा अघि)
  • पाठक संख्या ७८
  • भोजपुर/  कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यवसायिक कृषिमा जुट्न थालेका छन् ।

    भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ । रोजगारीका सिलसिलामा आठ वर्ष विदेशमा बिताउनुभएका उहाँ व्यवसायिक जैविक अकबरे खुर्सानी खेतीमा जुट्नुभएको हो ।

    विदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँठाउँमा व्यवसायिक बनेर कृषि गर्न सके राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा गरी आठ वर्ष बिताएँ । अहिले विदेश छाडेर यहाँ नै व्यवसायिक कृषिमा लागेको छु । परिवारसँग बसेर आफ्नै ठाउँमा विदेश बराबरको आम्दानी गरिरहेको छु ।’

    ‘उन्नति कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर गाउँमा नै व्यवसायिक रूपमा कृषि पेसामा जुटेको उहाँको भनाइ छ । राम्रो मूल्य पाएको खण्डमा यो वर्ष खुर्सानीखेतीबाट दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य रहेको उहाँको भनाइ छ ।

    आफ्नो बारीमा अहिले एक हजार चार सय बोट खुर्सानी लगाएको उहाँले जानकारी दिनुभयो । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा कृषिबाट उदाहरणीय बन्ने लक्ष्यका साथ कृषिकर्ममा जुटेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामी युवाहरू आफ्नो ठाउँमा सम्भावना खोजी गर्न छाडेर विदेश गइरहेको छौँ । राम्रो व्यावसायिक योजना बनाएर कृषि गर्न सकेमा यहाँ नै राम्रो आम्दानी लिन सकिने रहेछ । कृषि गरेर घरपरिवार राम्ररी चलाएको छु ।’

    आफ्नो बारीमा उत्पादन भएको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकेजी दुई सयदेखि तीन सय रुपैयाँमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएको खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर काठमाडौँलगायत सहरमा जाने गरेको उहाँ बताउनुहुन्छ ।

    पछिल्लो समय खुर्सानीमा पात कुप्रो पर्ने, फलमा कीरा लाग्ने, जरा कुहिनेलगायत रोग देखिन थालेको उहाँको भनाइ छ । खुर्सानीखेतीसँगै पशुपालन पनि गरिरहेकाले प्राङ्गारिक मलको प्रयोग गरेर जैविक प्रविधिबाट खुर्सानीखेती गर्दै आएको विष्टले बताउनुभयो ।

    ‘मैले अर्ग्यानिक अकबरे खुर्सानीखेती गरिरहेको छु’, उहाँले भन्नुभयो, ‘मानव स्वास्थ्यलाई ध्यानमा राखेर मैले अर्ग्यानिक खेतीमा जोड दिएको हुँ ।’

    मानव स्वास्थ्यलाई ध्यानमा राखेर गोबर मलको मात्र प्रयोग गरेको उहाँको भनाइ छ । करिब आठ रोपनी क्षेत्रमा सुन्तलाको व्यावसायिक खेती गरिरहेको पनि उहाँले बताउनुभयो ।

    –रासस