आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

प्राविधिक शिक्षा निःशुल्क पढाइने


  • आफ्नै खबर
  • २०८२ श्रावण ७, बुधबार मा प्रकाशित ६ महिना अघि
  • ४ पाठक संख्या
  • भोजपुर/  पौवादुङमा गाउँपालिकाले निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । गाउँपालिकामा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ १२ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिन लागिएको हो ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) सुम्निमा बहुप्राविधिक शिक्षालयमा भोजपुरमा अध्ययनका लागि विद्यार्थीको आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

    गाउँपालिकाले तीनवर्षे सिभिल इन्जिनियरिङ, कृषि तथा पशु विज्ञान र कृषि बाली विज्ञान डिप्लोमा तह अध्ययनका लागि १२ विद्यार्थीलाई अनुदानको व्यवस्था गरेर आवेदन माग गरेको हो ।

    गाउँपालिकाभित्रका गरिब तथा जेहनदार विद्यार्थी आर्थिक अभावमा प्राविधिक शिक्षा पढ्नबाट वञ्चित नबनुन् भनेर शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा पढाउन लागिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) उतिर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले अनुदानको व्यवस्था गरेको हो ।

    ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’, उहाँले भन्नुभयो, ‘आर्थिक अभावमा विद्यार्थी गुणस्तरीय शिक्षा लिनबाट वञ्चित नहुन् भनेर विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा प्रदान गर्दैछौँ । यहीँ नै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु