१० साउन २०८२ शनिबार | 26 Jul 2025 Sat

पहिलो बेत गाई ब्याउँदा १० हजार अनुदान



  • आफ्नै खबर
  • ८ साउन २०८२ बिहिबार (१ दिन अघि)
  • पाठक संख्या ३९
  • गुल्मी/  सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई १० हजार रुपैयाँ अनुदान उपलब्ध गराइने भएको हो ।  

    गाउँपालिकाले स्थानीय गाईको संरक्षणका लागि गाईका बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गरी गाईपालन तथा तिनको संरक्षण कार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषकलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत उक्त योजना ल्याएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउनुभयो ।

    पालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरि आर्थिक वर्ष २०८२/८३ को पशुपन्छी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त प्रोत्साहन कार्यक्रम अघि सारेको हो । 

    कार्यक्रमबाट लाभ लिनका लागि पालिकाले २०८२ साउन १ गतेदेखि २०८३ असार १५ गतेभित्र आफ्नो फर्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएमा १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने जानकारी गराएको छ । उक्त रकम प्राप्त गर्नका लागि कृषकले आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा जानकारी गराउनुपर्ने बताइएको छ । 

    अनुदान प्राप्त गर्नका लागि कृषकले पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरा उल्लेख गरिएको कम्तिमा तीन जना छिमेकीको हस्ताक्षर लगायतको मुचुल्का, सम्बन्धित वडा कार्यालयको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

    त्यसका अतिरिक्त निवेदकको बैङ्क खाता भएको चेकको प्रतिलिपि, भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरि दिएको रिपोर्ट अनिवार्य हुनुपर्ने भुसालले बताउनुभयो । 

    गाउँपालिका उपाध्यक्ष निरमाया तरामुका अनुसार यसरी अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्य रुपमा आफ्नै गोठमा हुर्काएको गाईको बाच्छी हुनुपर्ने छ ।

    पछिल्लो समयमा गाउँघरमा गाईपालन गर्ने परम्परा विस्तारै लोप हुँदै जान थालेको अवस्थामा जिल्लामा सत्यवती गाउँपालिकाले स्थानीय रैथाने गाईको संरक्षण गर्नका लागि उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

    –रासस