भोजपुर/ अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यवसायिक अकबरे (डल्ले) खुसार्नीखेती गर्न थालेपछी यो राम्रो आम्दानीको स्रोत बनेको हो ।
स्थानीय बजारमा प्रतिकेजी दुईदेखि चार सय रुपैयाँसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोहो गर्न सहज भएको बताउनुभयो । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लागेको उहाँको भनाइ छ ।
कृषक नवराज फुयाँलले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले बारीबाट किनेर लैजाने गरेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘अकबरे खुर्सानी बोखिम क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको श्रोत बनेको छ । बजारको झन्झट पनि छैन । मूल्य पनि राम्रै छ । त्यसैले हामी यसमा आकर्षित भएका हौँ ।’
भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यवसायिक खेती भइरहेको छ । गाउँपालिकाले व्यवसायिक खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले खेती विस्तारमा सहयोग गरेका कारण यहाँको करिब पाँच सय हेक्टर क्षेत्रमा किसानले खुर्सानी खेती गरिरहेका कृषि शाखाका प्राविधिक बर्तेन्द्र राईले बताउनुभयो ।
समग्रमा पालिका क्षेत्रमा करिब नौ सय कृषकले व्यवसायिक अकबरे खुर्सानीखेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका उहाँले बताउनुभयो ।
पौवादुङमाका एक किसानले न्यूनमत एक लाख ५० हजारदेखि सात लाख रुपैयाँसम्म खुर्सानीखेतीबाट भित्र्याउने गरेको पौवादुङमा—४ बास्तिमका ध्रुव राईले जानकारी दिनुभयो ।
‘खुर्सानीबाट राम्रो आम्दानी हुने भएपछि मैले पनि २० रोपनीमा खुर्सानी विस्तार गरेको छु । यो वर्ष आठदेखि १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ’, उहाँले भन्नुभयो, ‘बाह्र रोपनी क्षेत्रमा विस्तार गरेको खुर्सानीखेतीबाट गत वर्ष पाँच लाख रुपैयाँ आम्दानी गरेको थिएँ ।’
गत आर्थिक वर्षमा ६ सय हेक्टर क्षेत्रमा लगाइएको करिब २५ करोड रुपैयाँ बराबरको खुर्सानी बिक्री भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्र प्रमुख मुकेशकुमार यादवले यस वर्ष जिल्लाभर छ सय नौ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खेती विस्तार भइरहेको छ । रोग, किराको प्रकोप नियन्त्रण गर्न सकिएमा यस वर्ष २८ देखि २९ करोड रुपैयाँको हारहारीमा खुर्सानी उत्पादन हुने आँकलन छ ।’
यहाँका पौवादुङमा गाउँपालिकामा अकबरेको बढी खेती भइरहेको छ भने भोजपुर नगरपालिका र अरुण गाउँपालिकालगायत क्षेत्रमा पनि खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित खुर्सानी ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, झापा, विर्तामोड, काठमाडौँलगायत सहरमा पुग्ने गरेको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस