१० साउन २०८२ शनिबार | 26 Jul 2025 Sat

संरक्षण  र प्रवर्द्धनको पर्खाइमा ऐतिहासिक ‘ठूलढुङ्गा’



  • आफ्नै खबर
  • ९ साउन २०८२ शुक्रबार (२२ घण्टा अघि)
  • पाठक संख्या ७७
  • लमजुङ/  मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि पाँच सय मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।  

    यो ढुङ्गा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन ।

    विसं १८२९ (शाके १६९४) मा राजा वीरनारायणका पत्नीहरू शालधरा, सकलान र कुमारी गरी तीन शिव पार्वतीका भक्तहरूले इशानेश्वर महादेवको नाममा शिवरात्रि र फकिर, जोगी, साधुसन्तका निम्ति सात बीस अर्थात् एक सय ४० मुरी खेतको गुठी, अन्न सङ्कल्प गरी दान गरिएको अभिलेख यस ढुङ्गामा कुँदिएको छ । हाल उक्त गुठीको जग्गा मोहीहरुको नाममा दर्ता भइसकेको छ ।  

    उक्त ठूलो ढुङ्गामा लेखिएको छ, ‘श्री शाके सोह्रसय चौरानब्बे सहकाल गणिके लेखे श्री वीरनारायण, शालाधरा, सकलान, कुमारी इ तीन प्रभुजिके धर्म कर्म परब्रह्‍म ज्ञानीके सात बीस अन्न सङ्कल्प कालु मौखिके अतित पथि फुकुरा खलो सदवार्तातुही लिखे वीरनारायण साध्वा पत्नी शालधरा सकलान कुमारी तु तृतीया धर्म परायणा तेषामेत द्वान्न एवं दम्पतिना कुमारी क्षितिस्वारा रक्षतु प्रिताये भुयाद भवानी विश्वनाथायो शाके १६९४ ।’

    यो अभिलेखले पनि यस ढुङ्गाको ऐतिहासिकतालाई स्पष्ट पारेको छ । यसलाई घोटेर सफा गरेर पढ्न सकिने महादेव मन्दिरका पूर्वअध्यक्ष एवं शिक्षक रामचन्द्र घिमिरेले बताउनुभयो । 

    केही वर्षअघिसम्म सोही ढुङ्गाको नजिकै मादी नदी किनारमा फागुपूर्णिमामा छेलो हान्ने प्रतियोगिता हुने गथ्र्यो । ठूलो सङ्ख्यामा कास्की, तनहुँ र लमजुङका सर्वसाधारण मेला भर्न आउँथे । हाल उक्त मेला पर्व समेत लाग्न छाडेको छ । यहाँ हरिबोधनी एकादशीमा फूल तार्ने गरिन्थ्यो । त्यो पनि विस्तारै लोप हुँदै गएको स्थानीय बताउँछन् ।  

    यस ढुङ्गाको महत्व बुझेर संरक्षण गर्नेतर्फ कसैले चासो नदिएको स्थानीय नरबहादुर गुरुङले बताउनुभयो ।

    हाल इशानेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिरसँग जोडिएको हुनाले भक्तजनहरूलाई अभिलेखको जानकारी गराउँदै यसलाई पर्यटकीय स्थान बनाउने र ढुङ्गालाई संरक्षण गर्ने तयारी रहेको इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनुभयो । 

    सोही वडाका अध्यक्ष हीराबहादुर गुरुङ र नगर प्रमुख रमेशकुमार पाण्डेले यसको संरक्षण र जगेर्ना अति जरुरी रहेको बताउँदै बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

    –रासस