नवलपरासी पूर्व/ कावाासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गर्नुभएको छ ।
तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल एक सय ३५ वटा गमलामा विस्तार गर्नुभएको छ । उहाँले बारीमा चार सय २४ वटा बोट रोप्नुभएको छ । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो ।
‘युट्युब’बाट हेरेर प्रभावित भई उहाँले कौसीमा ड्रागन फल खेती सुरुआत गर्नुभएको थियो । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा दुई हजार एक सय रुपैयाँमा पनौतीबाट ल्याएर लगाउनुभएको थियो । कौसीमा खेती सुरु गर्दा २५ हजार रुपैयाँ लगानी लागेको उहाँले बताउनुभयो । उहाँले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आउनुभएको छ ।
जिसीले भन्नुभयो, ‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ । त्यसले राम्रो फल दियो । बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ । अहिले मकहाँ धेरैजना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब दुई लाख रुपैयाँको त बिरुवा नै बेचेँ ।’
गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थाल्नुभएको छ । असार महिनामा मात्रै साढे तीन क्विन्टल ड्रागन फल बिक्री गरिसक्नुभएको छ ।
बजारका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उहाँले बिक्री गर्दै आउनुभएको छ ।
पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।
–रासस
प्रतिक्रिया दिनुहोस