१३ साउन २०८२ मंगलबार | 29 Jul 2025 Tue

वीरगञ्जमा पानी बाँढ्दै नेपाली सेना



  • आफ्नै खबर
  • १२ साउन २०८२ सोमबार (२० घण्टा अघि)
  • पाठक संख्या ५८
  • पर्सा/  वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ । 

    मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्काे अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक ६ ट्याङ्करमार्फत औसतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिनुभयो ।

    ‘पानीको चर्काे अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ ।’

    वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्याङ्करबाट पानी वितरण हुँदै आइरहेको छ ।  

    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्काे अभाव झेलेका सर्वसाधारणलाई ट्याङ्करबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै  दिनरात नभनिकन फोन गर्नुहुन्छ । हामीले आवश्यकताको आधारमा ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ ।’ 

    गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्याङ्करमार्फत वितरण हुँदै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ । 

    नेपाली सेनाले वीरगञ्ज महानगरको छपकैया, गायत्री टोल, शिक्षा कार्यालय पछाडि, राधेमाई, श्रीपुर, बहुअरीचोक, भिष्वा, राधेराधे कोलोनी, रामगढवा, सुगौली विर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र  साँझ ६ बजे तीन पटक ट्याङ्करबाट पानी वितरण गर्दै आएको छ ।

    त्यस्तै, पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिणटोलमा पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्याङ्करबाट खानेपानी वितरण हुँदै आइरहेको छ । पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्याङ्करबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिनुभयो ।

    –रासस