कैलाली/ टीकापुर नगरपालिका–४ का किसान टेकेन्द्र धामीले गत वर्ष केराखेतीबाट १५ लाख रुपैयाँ आम्दानी गर्नुभएको छ । उहाँले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रुपैयाँको केरा बिक्री गर्नुभएको थियो ।
‘समयमै उत्पादन हुँदा ४७ लाखको केरा बिक्री गरेँ । फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उहाँले भन्नुभयो, ‘एक बिघामा १५ लाख रुपैयाँसम्म कमाएको छु ।’
यो वर्ष धामीले १९ बिघामा केराखेती गर्नुभएको छ । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहनुभएको छ । चौध वर्षदेखि केराखेतीमा संलग्न उहाँले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आउनुभएको छ ।
यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले साथ दिएको छ ।
धामीले भन्नुभयो, ‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ । मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्न सहयोग गर्ने गरेको छु ।’
केराखेतीबाट मनग्य आम्दानी हुने गरेको थाहा पाएपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ ।
‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन भाडामा लिएर खेती गरिरहेको छु’, उहाँले भन्नुभयो, ‘मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।’
किसानले असारमा केरा रोप्ने गर्दछन् । बर्खा याममा केरा अभाव हुन्छ । धामी उचित मूल्य पाउन किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउनुहुन्छ ।
‘हरेक किसानले असारमा केरा रोप्ने चलन छ । यसपटक मैले मङ्सिरमा केरा रोपेँ, यो केरा साउनमा उत्पादन हुन्छ । तर, मल नपाएर समस्या भएको छ’, धामी भन्नुहुन्छ, ‘वैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ ।’
धामीले केरा खेतीमा बहुबाली खेती गरिरहनुभएको छ । ‘केराभित्र तोरीखेती गरेर २४ क्विन्टल फल्यो । अहिले केराबारीमा खुर्सानी लटरम्म फलेको छ’, उहाँले भन्नुभयो, ‘कामदार अभावले टिप्न सकेको छैन । केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ ।’
धामीसँग नियमित १२ कामदारले रोजगारी पाएका छन् । त्यसबाहेक अन्य याममा ज्यालादारीमा कामदार लगाउने गरिएको छ ।
‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन’, उहाँ भन्नुहुन्छ, ‘बाली बिमामा समस्या छ । तोकिएका कम्पनी बिमा गर्न मान्दैनन् । बिमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ । अहिले मैले ५० लाख रुपैयाँको मात्र बिमा गरेको छु । निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ । बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ ।’
अहिले कैलालीका किसानले बारीमा प्रतिदर्जन ४० देखि ४५ रुपैयाँमा केरा बिक्री गरिरहेका छन् । तर बजारमा ८० रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् ।
मूल्य बीचका बिचौलियाले पाइरहेको अवस्था छ । नेपालमै केराखेतीको उर्बर भूमिका रुपमा चिनिने टीकापुरमा केराखेती गर्न चाहने किसानले यसवर्ष भने समयमै बेर्ना पाएनन् ।
आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउनुहुन्छ ।
‘आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ । बजारीकरणका लागि आवश्यक क्रेटलगायत सामग्री उपलब्ध गराउने गरेको छ’, कृषि अधिकृत ठाकुर भन्नुहुन्छ, ‘आयोजनाको दोस्रो चरणमा दुई सय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ । यसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ ।’
आयोजनाले आफ्नो क्षेत्रका ६ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ । आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो । आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीमा आकर्षित भएका छन् ।
आयोजना प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउनुहुन्छ ।
‘युवा कृषिमा लाग्नु राम्रो पक्ष हो । किसान केरामा आत्मनिर्भरतातर्फ गएको देखिन्छ’, उहाँ भन्नुहुन्छ, ‘केराबाट पर्याप्त आम्दानी लिन सकिन्छ । केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ ।’
आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन् । तेस्रो चरणमा केरा किसानलाई सघाउने कार्यक्रम तथा बजार विस्तारका लागि सहजीकरण गर्ने गरेको प्रमुख कँडेलको भनाइ छ ।
–रासस
प्रतिक्रिया दिनुहोस