बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ । उहाँ मौरीबाजेको नामले बढी चिनिनुहुन्छ ।
केसीले बलेवा मौरीपालन उद्योग सञ्चालन गर्नुभएको छ । २०५६ सालमा १० हजार रुपैयाँ लगानीमा दुई मौरीको घारबाट थालिएको मौरीपालन व्यवसायमा उहाँले अहिले एक करोड रुपैयाँ लगानी गरिसक्नुभएको छ । उद्योगका रूपमा स्थापित भएको मौरीपालन व्यवसायका कारण सिँगो बलेवा समेत परिचित हुँदै आएको छ ।
एक/दुई घार हुँदै थपिएका मौरीका घार अहिले तीन सय ५० पुगेका छन् भने उद्योगबाट वार्षिक दुई हजार पाँच सय मौरीका घार देश भरका विभिन्न जिल्लामा बिक्री भइरहेका छन् । केसीका दुई छोराले उद्योगलाई प्रविधिसँग जोडेर आधुनिक मौरीका घार बनाइरहेका छन् ।
केसीले भन्नुभयो, ‘म त ६० वर्ष कटेँ, मौरीको स्याहार मात्रै गर्छु । छोरा जगत र जनकको नेतृत्वमा थप ६ जनालाई रोजगारी दिएर आधुनिक मौरीका घार उत्पादन भइरहेका छन् । अहिले चितवनबाट चार सय मौरीका घारको माग आएपछि उद्योगमा धमाधम काम भइरहेको छ ।’
उहाँ थप्नुहुन्छ, ‘देशभरका विभिन्न जिल्लाबाट अनुदानमा वितरण गर्ने मौरीका घार यही उद्योगमा निर्माण हुन्छन् । अहिले १० लाखमा युरोपबाट काठ काट्ने आधुनिक उपकरण लिएका छौँ । मौरीको मह बिक्री, गोलासहितको घार तथा अन्य घार मात्रै बिक्रीबाट पछिल्लो एक वर्षमा मात्रै ६५ लाख रुपैयाँ आम्दानी भयो ।’
केसीका चार छोरामध्ये अहिले दुई छोराले बुबाको सीप र दुःखलाई पछ्याइरहेका छन् । वार्षिक तीन क्विन्टलसम्म मह उत्पादन तथा एक वर्षमा दुई हजार पाँच सय मौरीका घार उत्पादन गरेर बिक्री गर्दै आएको छोरा जगत केसीले जानकारी दिनुभयो । उहाँले अहिले तीन चरन क्षेत्रमा तीन सय ५० मौरीका घारमा मह उत्पादन भइरहेको जानकारी दिनुभयो ।
छोरा जगतले भन्नुभयो, ‘बाबाको बिँडो सम्हालेका मात्रै हौँ । बाबाले मौरीपालन गर्दै आउनुभएको थियो । पछि फर्निचरसमेतको काम जान्नुभएकाले आफूलाई चाहिने मौरीको घार आफैँ बनाउने गर्नुभएको छ । घारको माग बढ्न थाल्यो, उद्योगलाई प्रविधिसँग जोड्न मात्रै हामीले सघाएका छौँ ।’
केसीले आधुनिक उपकरणबाट काठ काट्ने, जोड्ने तथा रङ्ग लगाउने गर्नुहुन्छ । दुई वर्षअघि दुई सय ३६ घार भारतको सिक्कमसम्म निर्यात गरेको जिकिर गर्दै उहाँले विभिन्न जिल्लामा अनुदानमा वितरण गर्ने गोलासहित र गोलारहितको घार उत्पादन गर्दै आएको बताउनुभयो ।
मौरीको गोलासहितको घारलाई १० हजार रुपैयाँ र मौरीको गोलारहितको खाली घारलाई चार हजारदेखि पाँच हजार रुपैयाँसम्म बिक्री गरिएको केसीले जानकारी दिनुभयो । आम्दानीको ३० देखि ४० प्रतिशत रकम बचत भएको छ । केसीले गत आर्थिक वर्षमा ६५ लाखको मह र मौरीका घार बिक्री गर्दा २५ लाख रुपैयाँ नाफा भएको बताउनुभयो ।
मौरीको घार उत्पादन गर्न टुनीको काठ खरिद, विद्युत् महशुल, कर्मचारी तलबलगायतमा उद्योगले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । टुनीको काठबाट बनेका घारको माग बढी छ । बजारमा स्थानीय तहले सघाउन सकेमा आफ्नो उद्योगले सयौँ नागरिकलाई रोजगारी दिन सकिने केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘घार उत्पादनमा समस्या छैन । बजारीकरण गर्न कागजी प्रकृया नै झन्झटिलो छ ।’
बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो एक हजार रुपैयाँमा बजारमा बिक्री हुने गरेको छ । उद्योगलाई बागलुङ नगरपालिकाले १८ लाख रुपैयाँ अनुदान दिएको केसीले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस