१४ साउन २०८२ बुधबार | 30 Jul 2025 Wed

बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बन्यो मणिमुकुन्द सेन उद्यान



  • आफ्नै खबर
  • १३ साउन २०८२ मंगलबार (१५ घण्टा अघि)
  • पाठक संख्या ४३
  • रुपन्देही/  बुटवलको ऐतिहासिक पर्यटकीयस्थल मणिमुकुन्द सेन उद्यान(फूलबारी) बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय उद्यान भ्रमण तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आउनेमा भारतीय पर्यटकको सङ्ख्या बढी छ ।

    बुटवल उपमहानगरपालिका–२, फूलबारीस्थित उद्यान अवलोकनका लागि आर्थिक वर्ष २०८१/०८२ मा पाँच लाख ४७ हजार एक सय ९९ जना पर्यटक आएका छन् । तीमध्ये ७४ हजार पाँच सय ९२ जना भारतीय पर्यटक र ७१ हजार ६९५ जना विद्यार्थी रहेका उद्यान संरक्षण समितिले जनाएको छ । 

    समितिले आज वार्षिक समीक्षा तथा आगामी योजनाबारे जानकारी दिँदै अध्यक्ष माधवप्रसाद नेपालले अध्ययन केन्द्रका रुपमा उद्यानलाई विकास गर्ने योजना रहेको बताउनुभयो । विगतमा भन्दा पछिल्लो समय भारतीय पर्यटक तथा अध्ययन अवलोकन गर्न आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ थियो । 

    अध्यक्ष नेपालले भन्नुभयो, ‘यहाँ आउने विद्यार्थीमध्ये केही आफ्नो उच्च शिक्षा अध्ययनका क्रममा उद्यानसम्बन्धी शोधपत्र तयार गर्नका लागि पनि यहाँ आउने गरेका छन् ।’  

    उद्यानमा आवश्यक पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणको काम भए पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । यहाँ रहेको सेनवंशीय भग्नावशेष दरबार संरक्षणसँगै सङ्ग्रहालय निर्माण गर्न चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

    यसैगरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरिएकाले सो कार्यान्वयन भए थप उत्साह बढ्ने अध्यक्ष नेपालको विश्वास छ । 

    उद्यानमा नर्सरी उत्पादनलाई व्यवसायिक बनाउँदै, दरबार क्षेत्रको संरक्षण, बगैँचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेष्टुराँ, सिसाको पुल, जिपलाइनजस्ता संरचनाहरू निर्माणका लागिसमेत अध्ययन र तयारी भइरहेको समितिले जनाएको छ ।

    यस्तै, मुनामदन बगैँचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, ‘एक्युरियम’, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा मिडिया सहकार्य तथा ‘रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालनजस्ता योजना रहेका अध्यक्ष नेपालले जानकारी दिनुभयो । 

    उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरेले समितिले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारसँग सहकार्यमा संरचनागत विकास गरिरहेको बताउनुभयो । बजेट अभाव, सामुदायिक वनसँग कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानी आपूर्ति यहाँको चुनौती रहेकाले त्यसको सम्बोधन गर्न सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

    गत वर्ष उद्यानको आम्दानी चार करोड छ लाख रुपैयाँ तथा खर्च तीन करोड ९६ लाख रुपैयाँ जनाइएको छ । यसैगरी मनोरञ्जन कर, आयकर र अन्य कर शीर्षकमा ४७ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको समितिले जनाएको छ ।