१६ साउन २०८२ शुक्रबार | 01 Aug 2025 Fri

पर्यटनले दिइरहेछ गोठमै आम्दानी



  • आफ्नै खबर
  • १५ साउन २०८२ बिहिबार (२० घण्टा अघि)
  • पाठक संख्या ८०
  • बागलुङ/  पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालाको आम्दानी बढ्न थालेको हो ।

    पदमार्ग आसपास र बुकीपाटनमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ ।   

    बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताउनुभयो । 

    ‘पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन्, मोहीसमेत बिक्री हुन्छ’,  उहाँले भन्नुभयो, ‘पर्यटक बढेपछि यहीँ गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।’

    बुकीपाटन उक्लने बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहनुभएको छ । बुकी उक्लनेलाई प्रतिगिलास एक सय रुपैयाँमा चिया बिक्री गर्दै आएको उहाँको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताउनुभयो । 

    उहाँको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो ।

    ‘बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन् । दूधबाट चिया बनाउन थालेपछी यो ‘सिजन’मा घ्यू बनाउन आवश्यक छैन’, उहाँले भन्नुभयो, ‘पर्यटकका कारण गोठमै पैसा आएको छ । पहिला–पहिला खेर जाने मोही पनि हाल महङ्गो मूल्यमा बिक्री हुन्छ ।’

    ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो । 

    ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार नौ सय मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् ।

    –रासस