१६ साउन २०८२ शुक्रबार | 01 Aug 2025 Fri

बजार खोजिरहेको कागती



  • आफ्नै खबर
  • १५ साउन २०८२ बिहिबार (२१ घण्टा अघि)
  • पाठक संख्या ९८
  • तनहुँ/  देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीका लागि बजार खोजिरहनुभएको छ । व्यवसायिक कागतीखेतीमा लाग्नुभएका उहाँ आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्नुहुन्छ ।  

    मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गर्नुभएको छ । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उहाँले बताउनुभयो । मल्लले भन्नुभयो, ‘बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।’

    स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौँस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उहाँले सुनाउनुभयो । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौँ पुग्नुपरेको उहाँको भनाइ छ ।  

    ‘उत्पादित कागती काठमाडौँसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ । तर, बारीमै कुहिनुभन्दा काठमाडौँमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु’, मल्लले भन्नुभयो, ‘गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।’

    –रासस