१६ साउन २०८२ शुक्रबार | 01 Aug 2025 Fri

‘तराई–मधेशमा डिपवाटर एक्फर आवश्यक छ’



  • आफ्नै खबर
  • १५ साउन २०८२ बिहिबार (२१ घण्टा अघि)
  • पाठक संख्या ६४
  • पर्सा/  राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले तराई–मधेशमा भूमिगत रुपमा दुई सय ५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिनुभएको छ ।

    ग्रिनसिटि सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा आयोजित बृहत वृक्षरोपण कार्यक्रममा उहाँले तराई मधेशका जिल्लामा एक सय देखि एक सय ५० मिटर गहिराइमा पानीको पर्याप्त स्रोत नभएकाले पनि कम्तिमा पनि दुई सय ५० मिटर गहिराइका  ‘डिपवाटर एक्फर’ मार्फत बोरिङ गरेमा पर्याप्त मात्रामा भूमिगत पानी निकाल्न सकिने बताउनुभएको हो ।

    ‘यहाँ विशेष गरी एक सयदेखि एक सय ५० मिटर बोरिङ गरेर भूमिगत पानी तान्ने गरिएको देखिन्छ । तर, यहाँ जमिनमुनिको एक सय ५० मिटरको गहिराइमा पर्याप्त मात्रामा पानीको भण्डारण रहेको छैन’, उहाँले भन्नुभयो, ‘विगत ५० वर्षदेखि दुई सय ५० मिटर गहिराइको भूमिगत पानीको मात्रा जस्ताको तस्तै रहिरहेको छ । तर, हाम्रो छिमेकीमुलुक भारतले दुई सय ५० मिटर गहिराइको पानीको उपयोग गरेपनि नेपालले भने सो सतहको पानीको उपयोग गर्न सकिरहेको छैन । अब हामीले खानेपानी र सिँचाइको लागि कम्तिमा पनि दुई सय ५० मिटर गहिराईको सतहबाटै पानी निकाल्नुपर्ने हुन्छ ।’ 

    समितिका अनुसार दुई सय मिटर सम्मको गहिराइको भूमिगत पानीको सतहलाई ‘स्यालो वाटर एक्फर’ भन्ने गरिन्छ  भने दुई सय ५० मिटरको गहिराइको भूमिगत पानीको सतहलाई ‘डिप वाटर एक्फर’ भन्ने गरिन्छ । 

    अध्यक्ष पौडेलले दुई सय ५० मिटर गहिराइका डिप बोरिङको खर्च तुलनात्मक रुपमा बढी भएपनि यस्ता खालका बोरिङ बढी प्रभावकारी हुने दावी गर्नुभयो ।

    ‘भूमिगत पानीको सतह छिमेकीमुलुक भारत र नेपालको उस्तै खालको छ । २५० मिटरभन्दा गहिराइको पानी भारतको तर्फबाट प्रयोग भइरहेका छन्’, उहाँले भन्नुभयो, ‘हाम्रो नेपालको तर्फबाट गरेका छैनौ । यद्यपि हामीले थोरै मिटरको गहिराइमा पानी खनेर यहाँ भूमिगत पानी छैन भनिरहेका छौं ।’ 

    अध्यक्ष पौडेलले महानगर लगायतका अन्य निकायले ठूला खालका डिप बोरिङ खन्दा कम्तिमा पनि दुई सय ५० मिटर मुनिबाट बोरिङ खन्ने कामलाई प्रोत्साहन गर्न जरुरी भएको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘तराई–मधेशमा देखिएको खानेपानी र सिँचाइको संकट रोक्नका लागि सबैले हातेमालो गरेर चुरे संरक्षणमा ध्यान दिन जरुरी भइसकेको छ ।’   

    अध्यक्ष पौडेलले तराई–मधेशमा यो वर्ष पानी कम परेर र पानीको उपयोग बढी गरेर पनि यहाँ विगत केही वर्षदेखि पानीको समस्या सिर्जना भएको बताउनुभयो ।

    ‘हामीले पानीको पुनर्भरणमा जे गर्नुपर्ने हुन्थ्यो । सो पर्याप्त मात्रामा गर्न सकिरहेका छैनौँ’, उहाँले भन्नुभयो, ‘हाम्रो मानवीय तर्फबाट र प्रकृति दुवैतर्फबाट समस्या भइरहेको छ ।’  

    राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति,खानेपानी/सिँचाईसँग सम्बन्धित सङ्घ–संस्थाले चुरेक्षेत्रभित्र जुनसुकै बेला परेको पानीलाई भूमिगत रुपमा संरक्षण गर्नका लागि विभिन्न खालका पोखरी तथा तालतलैया बनाउन जरुरी रहेको  उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले चुरे क्षेत्रमा पानी संरक्षण गर्ने निकै कम पोखरी रहेका छन् । ससाना गल्छीहरु बनाउनुपर्यो । विभिन्न खालका खहरे खोलाको पनि पानी रोकेर जमिनमुनि पुनर्भरण हुने व्यवस्था गर्न अपरिहार्य भइसकेको छ ।’

     समितिका अध्यक्ष पौडेलले सहरी क्षेत्रमा  आफ्नो घरवरिपरी अकाशे पानी पुर्नभरणको लागि आवश्यक संरचना बनाउन पनि जरुरी रहेको बताउनुभयो ।

    ‘यहाँका स्थानीय तहले नक्सापास गर्दा अनिवार्य रुपमा आकाशेपानी पुनर्भरण गर्नका लागि आवश्यक संरचना बनाउनुपर्ने खालका दीर्घकालीन नीति पनि अवलम्बन गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘यस्ता खालका सकारात्मक कार्यले पनि भविष्यमा पानीको संरक्षणमा महत्वपूर्ण  योगदान पुर्‍याउनेछ ।’

    अध्यक्ष पौडेलले पछिल्लो समय वीरगञ्जमा घनाबस्ती र जताततै सडक कालोपत्रे भएकाले पनि प्राकृतिक रुपमा पानीको पुनर्भरण हुन नसकिरहेको बताउनुभयो । 

    ‘अहिले त आकाशेपानी पनि ढलबाट हुँदै नदीमा बग्दै गइरहेको छ । त्यसैले घरवरिपरी पानी सोस्ने काम पनि बन्द भइरहेको छ । हाम्रो वरपर सोस्ने पानीको मात्रा पनि घटिरहेको छ । भूमिगत पानी पुनर्भरण गर्ने काममा पनि पछिल्लो समय असहयोगी हुँदै आइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘हामीले पानी संरक्षण गर्ने आनीबानीमा पनि सुधार गर्दै जानुपर्छ । घरभित्रबाटै महानगरले नक्सापास गर्दा पनि घरवरपर नै पानी सोस्ने खालको पनि वातावरण तयार पार्न जरुरी भइसकेको छ ।’ 

    वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पनि वीरगञ्ज महानगरमा देखिएको पानीको सङ्कट समाधानको लागि तत्कालीन र दीर्घकालीन योजनाको विषयमा आवश्यक काम गर्दै आइरहेको दावी गर्नुभयो ।

    ‘महानगरले पानीको अल्पकालीन समाधानको लागि ट्याङ्करमार्फत पानी वितरण गर्दै आइरहेको छ’, उहाँले भन्नुभयो, ‘दीर्घकालीन समाधानको लागि पनि आवश्यक काम गर्दै आइरहेका छौँ ।’ 

    ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्ज आसपासमा विगत लामो समयदेखि वृक्षरोपण कार्यलाई प्राथामिकता राख्दै आइरहेको बताउनुभयो । ‘हामीले यहाँका खाली भएका ठाउँमा नियमित रुपमा वृक्षरोपण गर्दै आइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यसले पक्कै पनि केही समयपछि प्रतिफल दिने विश्वास लिएका छौँ ।’

    –रासस