१७ साउन २०८२ शनिबार | 02 Aug 2025 Sat

वीरेन्द्रनगरमा ३५५ सिसी क्यामेरा जोडिने



  • आफ्नै खबर
  • १६ साउन २०८२ शुक्रबार (१७ घण्टा अघि)
  • पाठक संख्या ६०
  • सुर्खेत/  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछी वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा तीन सय ५५ सिसी क्यामेरा जडानको काम सुरु भएको छ । 

    वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सिसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्तिसुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने भएको छ । बिहीबार नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा तीन सय ५५ स्थानमा सिसी क्यामेरा जडानको प्रक्रिया थालेको हो ।

    क्यामेरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र एक सय पाँच स्थानमा सिसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइने छ ।

    दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै थप दुई सय ५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सिसी क्यामेरा जडान गरिने नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

    वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिकाका रुपमा विकास गर्न नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न क्षेत्र स्थानमा शान्तिसुरक्षा र अमनचैन कायम गर्ने उद्देश्यले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीयस्थल समेटिने गरी चालु आर्थिक वर्ष २०८२/८३ भित्र तीन सय ५५ स्थानमा सिसी क्यामेरा जडान नगरपालिकाबाट हुनेछ ।

     यसरी जडान भएका क्यामेरालाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ । 

    साथै टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्राङ्गण र वडा नं ६ र ८ स्थित घण्टाघरको प्राङ्गण वरिपरिका दुई स्थानमा वाइफाई हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    नगरका विभिन्न क्षेत्रमा जडान हुने सिसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्ने छ भने जिल्ला प्रहरी कार्यालयले चौबीसै घण्टा निगरानी गर्नेछ । यस्तै, नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मतसम्भार गर्नेछ ।

    नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सिसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । 

    टेलिकमसँग भएको सम्झौताअनुसार वीरेन्द्रनगरको घण्टाघर र विश्वविद्यालय आसपासको क्षेत्रलाई शान्तिक्षेत्र बनाएर अध्ययन तथा अनुसन्धानस्थल निर्माण गरी प्रविधिमा आधारित सिर्जनशील तथा प्रवर्द्धनात्मक कार्य गर्न निःशुल्क वाइफाई जडान गर्न लागिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सिसी क्यामेराबाट शान्तिसुरक्षा मजबुत बनाउन सघाउ पुग्ने बताउनुभयो ।

    –रासस