१७ साउन २०८२ शनिबार | 02 Aug 2025 Sat

अग्रज साहित्यकार चालिसेलाई २१ संस्थाको श्रद्धाञ्जली



  • आफ्नै खबर
  • १६ साउन २०८२ शुक्रबार (१४ घण्टा अघि)
  • पाठक संख्या १११
  • काठमाडौँ/  अग्रज साहित्यकार तथा पत्रकार विजय चालिसे कीर्तिशेष हुनुभएको दुई महीना पारेर श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

    साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको सभापतित्व, रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार र एवं साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वक्ताहरूले चालिसेको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए । 

    रामहिटी, बौद्धमा २१ वटा साहित्यिक संस्थाहरूको संयोजन गर्दै साहित्य सदनले उक्त श्रद्धाञ्जलि सभाको आयोजना गरेको  थियो । 

    कीर्तिशेष हुनुभएका विजय चालिसेको तस्वीरमा माल्यार्पण सहित शुरु भएको उक्त कार्यक्रममा बोल्दै वरिष्ठ समालोचक ठाकुर शर्माले चालिसेका बहुविधामा ५६ कृतिहरू प्रकाशित भएको जानकारी दिनुभयो ।

    गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले स्कुले जीवनमा आफ्ना गुरु समेत रहनुभएका चालिसेसँग साहित्यिक, सामाजिक क्षेत्रमा काँधमा काँध जोडेर काम गर्ने अवसर पाएको स्मरण गर्दै वहाँ जस्ता प्रतिभाहरूको सहयोग, प्रेरणा र हौसलाले गर्दा नै गोकर्णेश्वर नगरपालिकाले साहित्य क्षेत्रमा अनुकरणीय काम गर्न सफल भएको बताउनु भयो ।

    वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पत्रकारिता क्षेत्रमा लामो समय बिताए पनि साहित्यिक क्षेत्रमा उत्तिकै अब्बल रहेको स्मरण गर्नुभयो । उहाँले लेखक–साहित्यकार  गहना नभै स्पन्दन भएको बताउँदै चालिसेको अन्तिम बिदाइमा गोकर्णेश्वर नगरपालिकाले गरेको सलामीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

    चालिसेका कान्छा सुपुत्र आलोकले पिताले निभाउनुभएको सामाजिक, शैक्षिक, पत्रकारिता र साहित्यको पाटो बारे स्मरण गर्दै वहाँको योगदानलाई स्थायी बनाउन विजयलक्ष्मी ट्रष्ट स्थापना गर्न लागिएको जानकारी दिनुभयो । 

    वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले रमेश विकल साहित्य प्रतिष्ठानको स्थापनादेखिनै चालिसेको सकृयता बारे स्मरण गर्दै उहाँको योगदान बिना प्रतिष्ठान आजको अवस्थामा आउन नसक्ने धारणा व्यक्त गर्नुभयो । पिता रमेश विकलको भन्दा भैरव अर्यालको प्रेरणाबाट चालिसे साहित्यमा लागेको उहाँको भनाइ थियो । 

    अन्य वक्ताहरूमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव प्राध्यापक जगत उपाध्याय, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरि, अभिनव साहित्य समाजका गोविन्द घिमिरे ‘वेदमणि’, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष शम्भु बडाल, पोषण पाण्डे तीर्थ सदनका प्रतिनिधि रञ्जु पाण्डे हुनुहुन्थ्यो ।  

    वरिष्ठ पत्रकार समेत रहनुभएका साहित्यकार विजय चालिसेको २०८२ जेठ १६ गते निधन भएको थियो ।