१८ असोज २०८२ शनिबार | 04 Oct 2025 Sat

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू



  • आफ्नै खबर
  • १७ साउन २०८२ शनिबार (२ महिना अघि)
  • पाठक संख्या १५१
  • मुगु/  मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ । सिञ्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनासँगै भक्तजनको आगमन सुरु भएको हो ।

    यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजाआराधना गर्दै यात्राको औपचारिक सुरुआत गरिएको छ । मन्दिर परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो ।

    स्थानीय पुरोहित, पुजारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय श्रद्धालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा  छायाँनाथ मन्दिर परिसरमा विशेष पूजाआजा गरी यात्रा आरम्भ गरिएको हो ।

    धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मुगुम कार्मारोङ गाउँपालिका–१ छायाँक्षेत्र चार हजार पाँच सय मिटरको उचाइमा छ । यस धाममा विशेषगरी साउन महिनाको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौँ श्रद्धालु दर्शन गर्न आउने गर्दछन् । 

    सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताउनुभयो । 

    शिवजीको मूर्ति(गाथ)सहित पूजा गर्ने परम्परा सदियौँदेखि चलिआएको र विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछिको मुख्य धामका रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्र भएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार यहाँको ठाकुरज्यु (भगवान् शिव) विष्णु, गणेश र भगवान् बुद्धको मूर्ति १८३६ सालमा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं उपाध्यायले मूर्ति स्थापना गर्नु भएको हो ।

    हिमाली क्षेत्र भएकाले दैनिक नित्य पूजाआजा गर्न कठिनाइ हुने हुँदा तत्कालीन समयमा ब्राह्मणको बासस्थान रहेको गमदराको चैन गाउँमा छायाँक्षेत्र मन्दिर स्थापना गरी ११ महिना त्यहीँ पूजा गर्ने र साउन महिनामा गाथसहित छायाँक्षेत्र धाममा पुगी पूजाआजा गर्ने परम्परा सुरु भएको बताइन्छ । 

    यहाँ सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रायः सबै जिल्लाबाट स्थानीय र भारतको उत्तराखण्ड, हिमाञ्चल, कुमाउँ क्षेत्रबाट श्रद्धालु आउने गरेका छन् ।

    छायाँनाथमा नयाँ धामीको अवतार गर्न, छापविदो लिन, व्रतबन्ध गर्न, पितृमोक्ष गर्न, वर माग्न र आफ्ना कुलदेवता, इष्ट देवताको शुद्धिका लागि भक्तजन तथा श्रद्धालु आफ्ना धामीझाँक्री र देवतासहित पुग्ने गर्दछन् ।

    –रासस