म्याग्दी/ अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बन्नुभएको छ ।
रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गर्नुभएको थियो ।
फगामीले भन्नुभयो, ‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिएँ । बाख्राले जुम्ल्याह पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो । पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा दुई लाख रुपैयाँमा खरिद गरेर बाख्रा पालनलाई व्यावसायिक बनाएको हुँ ।’
उहाँ अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बन्नुभएको छ ।
उहाँले विगत ६ वर्षदेखि बाख्रा पालनलाई व्यवस्थित र व्यावसायिक बनाउनु भएको हो । फगामीले सञ्चालन गर्नुभएको ‘सुतारे एकीकृत कृषि तथा पशुपंक्षि फर्म’मा अहिले एक सय ५० वटा बाख्रा छन् ।
फर्ममा रहेका ४० वटा माउ बाख्रा ब्याउने छन् । चाडपर्व र विभिन्न पूजा आजामा खसीबोका र पाठा पाठी बिक्री हुने गरेको छ । उत्पादन भएका खसीबोका गोठ र खोरबाटै बिक्री हुने गरेको कृषक फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार बाख्रा पालनबाट मासिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
फर्ममा फगामी दम्पतीका साथै छोरा बुहारीले बाख्राको रेखदेख र स्याहार गर्दै आएका छन् भने चरन क्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारीसमेत दिइएको छ ।
हिउँद याममा बेसीका फाँटमा खेतवारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्कलगायतका लेकाली क्षेत्रका वनजङ्गलमा चरनका लागि लैजाने गरिएको छ ।
बाख्रा पालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएका फगामीले बाख्रा पालनसँगै भेडापालन गर्ने योजनासमेत बनाउनुभएको छ ।
बाख्रा पालनलाई थप व्यवसायिक बनाउनका लागि अहिले खोरको क्षमता विस्तार गरिएको छ । आर्थिक वर्ष २०८१/०८२मा अन्नपूर्ण गाउँपालिकाले पशुपंक्षिको लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब तीन सय बाख्रा पालन गर्न सक्ने क्षमताको खोर निर्माण गरिएको छ ।
गाउँपालिकाबाट प्राप्त भएको एक लाख ६६ हजार रुपैयाँ अनुदान रकममा आफूहरूले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरेको फगामीका छोरा राजु फगामीले बताउनुभयो ।
छोटो समयमै हुर्कने र अन्य पशुपक्षीको तुलनामा नगद आम्दानीसमेत बढी हुने भएकाले सिङ्गो परिवारले नै बाख्रा पालनलाई अङ्गालेका छन् । विभिन्न समयमा बाख्रामा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रा पालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन् ।
आलुसँगै अन्नबालीको खेती किसानीसमेत गर्दै आएपनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदासमेत बाख्रा पालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामीले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस